विशेष रुपान्तरण अभियानबारे ध्यान दिनुपर्ने ७ कुरा – गिता पनेरू

गिता पनेरू (मुक्ति बिहानी)
काठमाडौं

पार्टीकाे केन्द्रीय समितिकाे बैठकबाट निर्णय नै गराएर नेकपा (माओवादी केन्द्र)द्वारा ३ महिने “जनतासँग माओवादी :  विशेष रुपान्तरण ” अभियान कार्यक्रम घाेषणा गरिनु स्वागतयोग्य विषय हाे। निकै लामो र उच्च बलिदानीपुर्ण सङ्घर्षबाट आएको पार्टी जसले याे समाजलाई आमूल परिवर्तनको माध्यमबाट जनताको जिवनमा नै रुपान्तरण ल्याउने सपना देखेकाे थियोे र हजारौं कार्यकर्तालाई वलिदानकाे निम्ति उत्प्रेरित गरेर युद्धमा हाेम्न सफल भएको थियाे, साेहि पार्टी आज ब्यक्तिगत स्वार्थमा लिप्त हुनु, निहित स्वार्थका लागि आफ्नो आदर्श, मुल्य र मान्यतालाई नै बिर्सदै जानु र जनतालाई भुसुक्कै बिर्सनुले आज खुम्चिनु परेको छ, जनमतबाट बन्चित हुनुपरेको छ । यस्तो नाजुक परिस्थितिका बिच पार्टीले ल्याएको उक्त अभियान निकै महत्त्वपूर्ण देखिन्छ तर यसमा विचार पुर्याउनुपर्ने र कार्यक्रमकाे माेडालिटीमा समेत ध्यान पुर्याउनु पर्ने केही महत्त्वपूर्ण विषयहरु छन्, जसकाे नजरअन्दाज गरियो भने फेरि परिणाम त उही रहने वा अभियानले सार्थकता नपाउने सम्भावनालाई पनि नकार्न सकिन्न । तसर्थ अभियानमा जानुभन्दा अगाडि वा जनतासँग जाेडिनुभन्दा पहिले पार्टी नेता, कार्यकर्ता वा अभियान्ताहरुले ध्यान पुर्याउनुपर्ने वा सजग हुनुपर्ने केही महत्त्वपूर्ण बुँदाहरुमा चर्चा गर्न आवश्यक छ।

पहिलो कुरा, नेता कार्यकर्ताकाे आफ्नो जिवनशैलीमा निकै परिवर्तन आएको छ, तर जनताको जिवनशैलीमा तात्विक भिन्नता आएको छैन । त्यसैले जनतासँग भिन्न देखिने गरि लवाई, खुवाई, हिडाई, डुलाईमा शासकपन झल्किने गरी जनता माझ पेश हुनुहुदैन, ता कि जनतालाई नै सकस हाेस्, अफ्ठ्याराे महशुस हाेस्।
दाेस्राे कुरा ओैपचारिक कार्यक्रमहरु गरेर खादा, माला, अबिरले सजिसजाउ बनेर मन्चासिन नबनाै, ताकि जनतालाई तपाईं हरुभन्दा हामी के के न हाै, हामीलाई तपाईंहरुले सधैं सम्मान गर्नुपर्छ भन्ने भाव नझल्कियाेस् र उनिहरुमा दमित मानसिकता पैदा नहाेस् ।
तेस्राे कुरा जनतालाई दिक्क लाग्ने गरी पार्टीको लाईनका बारेमा वा विपक्षीका बारेमा टिकाटिप्पणी गरेर समय बर्बाद नपारियाेस्ला । लामो -लामाे भाषण भन्दा छाेटाे-छाेटाे कथा, कविता कमिक, नाटक, मनाेरन्जनात्मक र भाव सम्प्रेषण गर्ने खालका रचनात्मक कार्यक्रमलाई बढि जाेड दिईयाेस् ता कि एउटै शब्द बाक्य वा गतिविधिले भन्न खाेजिएकाे बिषयबस्तु छर्लङ्ग हुन सकाेस्।
चाैंथाे कुरा,  कार्यक्रमहरु आयाेजना गरिरहँदा अतिथिका रुपमा सबै -सबैलाई मन्चमा आसिन नगराईयाेस्, बरु जसले कार्यक्रम सन्चालन गर्ने हाे र जसकाे बाेल्ने पालाे छ, वा जसकाे जुन प्रस्तुति छ,उसलाई मात्रै अगाडि ल्याएर अरुहरु सबै उस्तै तवरले बराबरको हैसियतमा ग्राउन्ड वा फ्लाेरमा बस्ने तरिका अपनाउँ । जसले गर्दा नेता र कार्यकर्ताबीच दुरी नभई समानताको सम्बन्ध कायम रहेकाे महशुस हाेस्।

पाँचौ  कुरा, जनताको बिचमा जाँदै गर्दा जतिसक्दाे जनताको वास्तविकता बुझ्ने काेशिष गराै, जनताको सुनाै,जनताको बुझाै, जनताबाट धेरै भन्दा धेरै राय, सल्लाह, सुझाव, गुनासाहरु सङ्कलन गरेर दस्तावेज बनाउने काेशिष गराै, ता कि हामीले दिन नसकेकाे कुरा वा जनतालाई अभाव खट्किएकाे कुरा के रहेछ, गर्नुपर्ने दायित्व के रहेछ र  पार्टी चुकेकाे के मा रहेछ थाहा पाउन सकियाेस्।
छैटौं कुरा,   पहिले पहिले जनयुद्ध कालमा झै जनताको श्रममा सघाउने वा उनीहरुकाे आवश्यकता अनुसार श्रमदान गर्ने, जनसेवाकाे नाममा गरिने श्रमदान मार्फत वास्तविक माओवादीकाे पहिचान दिने काेशिष गर्नुपर्दछ, बिगतकाे झल्को आउनेगरी खेतबारीमा सामुहिक काम गर्ने,लविकास निर्माण कार्यमा जाेडिने र घरायसी काममा सघाउनाले जनतासँगकाे  कडिलाई मजबुत र पुनर्ताजगी गराउनेछ।

साताैं कुरा,  त्यतिमात्र नभएर जनयुद्धकालिन अवस्थामा याेगदान पुर्‍याउने, सेल्टर दिने घरपरिवारकाे अवस्थाका बारेमा लगत सङ्कलन गर्ने साथै घाइते ,बेपत्ता र सहिद परिवारका अवस्थाका बारेमा यथार्थता पहिचान गरि उहाँहरुकाे समस्यालाई समाधानका लागि पहल गर्ने कार्यलाई पनि विशेष प्राथमिकतामा राखिनुपर्छ। उहाँहरुकाे रगतकाे मुल्य स्थापित भएको अनुभुति दिलाउन प्रयत्न गर्नुपर्छ। जसका लागि ईतिहासकाे मुल्यांकन गर्दै उहाँहरुकाे उचित स्थान र अधिकारका निम्ति थप स्थान सुरक्षित गरियाेस्।

अन्त्यमा  वास्तविक कम्युनिस्ट क्रान्तिकारीहरुकाे नाममा स्थापित पार्टीले अरुले जे गर्याे ,त्यहि भन्दा केही पृथक एवं उच्चस्तरीय कार्यशैली अपनाएर मात्रै अगाडि बढ्नुपर्ने देखिन्छ। अन्यथा याे अभियान पनि विगतका जस्तो फिका हुने र  हात्ती आयाे,हात्ती आयाे फुस्सा भने झै हुने खतरा हुन्छ । तसर्थ समयमै सचेत बनाैं विगतका कमजोरी र दुर्बल पक्षहरूलाई सच्याउँदै अघि बढाैं ।