
नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणमा छलफल हुन्छ : प्रवक्ता सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताए ।
‘चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । कूटीतिक पहलकदमी बढाउनुपर्छ’, प्रवक्ता सापकोटाले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा कुराकानी हुन्छ ।’ नक्सा जस्तो महत्वपूर्ण विषयलाई किन समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने उनको भनाइ थियो ।
चीनको प्राकृतिक संशाधन मन्त्रालयले अरुणाचल र अक्साइ चीनलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । तर त्यसमा नेपालको चुच्चे नक्सा नभएपछि कतिपयले चीनको आलोचना गर्दै आएका छन् ।
