प्रचण्डको पहलमा खुल्यो तातोपानी नाका, चिनियाँ सामान सस्तो होला ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । आठ वर्षदेखि बन्द रहेको नेपाल–चीन सिमानाको तातोपानी नाका आजदेखि मानिसहरुका लागि खुला भएको छ ।

आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेर नाकाको शुभारम्भ गरेका छन् ।

प्रतिनिधि सभा सदस्य एवम् माओवादी केन्द्रका युवा नेता माधव सापकोटासहितको नेपाली टोलीलाई तिब्बत सरकारको वित्त प्रमुख वाङ पिङ्ग, सिगात्सेका नगर प्रमुख पासाङ्ग लगायतको चिनियाँ टोलीलाई भव्य स्वागत गरेको थियो । लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयले जारी गरेको पास लिएर नेपाली टोली चीन प्रस्थान गरेको थियो ।

२०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो व्यापारिक नाका पूर्णरुपमा बन्द थियो । भूकम्पबाट सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका वि.सं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि पुनः बन्द भएको थियो । चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो ।

आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसद सापकोटाले संसदमा आवाज उठाउनुका साथै कूटनीतिक पहलका लागि प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्री लगायतको ध्यानाकर्षण समेत गराएका थिए ।

केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

तातोपानी नाका मानव आवतजावतका लागि औपचारिक रुपमा सन्चालनमा आएपछि सांसद सापकोटाले खुसी व्यक्त गरेका छन् ।

‘जनतासँग गरेका बाचाहरु क्रमशः पुरा हुने क्रममा छन् । केही समय पहिले जुरे पहिरो पीडितको नाममा संकलन भई रोकिएको रकम फुकुवा गरी सम्बन्धित व्यक्तिहरुलाई वितरण गरिएको थियो । आज २०८० भादल्र १५ गते विगत ८ वर्षदेखि बन्द रहेको तातोपानी नाका मानव आवतजावत का लागि औपचारिक रुपमा  सन्चालन भएको छ,’ सापकोटाले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।

उनले नाका सन्चालनका लागि पहल गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व सभामुख अग्निप्रसाद सापकोटा,  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, चीन सरकार लगायत सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

तातोपानी नाका खुलेपछि नेपालतर्फ व्यावसायिक गतिविधि फस्टाउने मात्र नभएर सर्वसाधारणको दैनिकीमा पनि प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा व्यापारीहरूले राखेका छन्। चीनसँग सरसामान आयात र निर्यात गर्नका लागि तातोपानी नाका बन्द भएपछि रसुवा जिल्लाको नाका प्रयोग भइरहेको थियो। चिनियाँ सामानको ढुवानी भारतको कोलकता हुँदै पनि आयात हुने गर्दथ्यो ।

 चीनको सामान समुद्री मार्ग हुँदै ल्याउँदा कोलकातासम्म आइपुग्न नै झन्डै ४० दिन लाग्छ।  समय र लागत बढी हुने भएपछि मूल्य पनि स्वाभाविक रूपमा बढी नै पर्दथ्यो ।

रसुवागढी र कोलकाता नाका टाढा पर्ने भएकाले त्यहाँबाट भित्रिने सामान तुलनात्मक रूपमा महँगो हुने गरे अब नजिकको नाका तातोपानी वैकल्पिक मार्गको रूपमा थपिएकाले सामान ढुवानी सहज हुने र त्यसको प्रभाव बजारमूल्यमा पर्ने बताइन्छ ।

तातोपानी नाकाको सञ्चालनले बजार मूल्य मात्र नभएर अन्य थुप्रै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने व्यवसायीहरू  बताउँछन्।