रुपान्तरण अभियान उदघाटन गर्न प्रचण्डले रोजे घट्टेडाँडा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन महिने रुपान्तरण अभियानको शुभारम्भ काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडा पार्कबाट गर्ने भएको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन् ।

यसअघि राष्ट्रिय सभागृहबाट अभियानको औपचारिक उदघाटन गर्ने भनिए पनि प्रधानमन्त्री प्रचण्डले घट्टेडाँडाबाट अभियान उदघाटन गर्दा राम्रो हुने बताएपछि नेताहरु कार्यक्रम व्यवस्थापनको काममा सक्रिय भएका छन् ।

दिउँसो १ बजे अभियान गर्नुअघि प्रचण्डले पार्कमा वृक्षारोपण गर्ने छन् र जुममार्फत ७५३ वटै पालिकामा उदघाटन कार्यक्रमलाई सम्बोधन गर्ने छन् । पालिका कमिटीहरुले सम्बोधनको प्रत्यक्षप्रसारण गर्नेछन् ।

कार्यक्रम व्यवस्थापनमा खटिएका माओवादी केन्द्रका युवा नेता  माधव सापकोटाका अनुसार अभियानको औपचारिक उदघाटन समारोह सकिएपछि प्रधानमन्त्री प्रचण्डले जनताका गुनासा, समस्या बुझ्ने र जवाफ दिने गरी अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

घट्टेडाँडा नै किन ?

चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडा माओवादीले लगातार दुई पटक प्यानलै जितेको वडा हो । यहाँ जनजाती र दलित समुदायको बाहुल्यता छ । अध्यक्ष प्रचण्डले विगतमा चुनाव जितेको क्षेत्र पनि पर्ने भएकाले माओवादीले विशेष रुपान्तरण अभियानको सुरुवात पनि यही घट्ट्डाँडाबाट गर्ने निर्णय गरेको नेता सापकोटाले जानकारी दिए  ।

गत स्थानीय तहको निर्वाचनमा सो वडामा माओवादी केन्द्रले वडाध्यक्षसहित प्यानलै विजयी हासिल गरेको थियो । माओवादी केन्द्रका उम्मेदवार भाइकृष्ण तामाङले कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङलाई २२४ मतान्तरले पराजित गरेका थिए ।

यसअघि माओवादी केन्द्रले राष्ट्रिय सभागृहबाट अभियान उदघाटन गर्ने भने पनि त्यो परम्परागत हुने निष्कर्षपछि घट्टेडाँडालाई रोजिएको नेताहरुले बताएका छन् ।

गत साउन तेस्रो साता सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले तीन महिने रुपान्तरण अभियान सुरु गर्ने निर्णय गर्दै नेताहरुको कार्यविभाजन समेत गरेको थियो । कार्ययोजनाअनुसार पार्टीका केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म एकसाथ अभियानमा वडा तहसम्म परिचालन गरी व्यवस्थापन मिलाइएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड पनि सात वटै प्रदेशका सात वडामा खटिने तयारी छ । यस अभियानबारे विस्तृत जानकारी दिन  शुक्रबार माओवादी केन्द्रले पत्रकार सम्मेलन समेत आयोजना गर्दै छ ।