दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आगलागीमा परी ७३ जनाको मृत्यु
काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा एउटा भवनमा आगलागी हुँदा ७३ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् ।
जोहानेसबर्गको मध्य भागमा रहेको उक्त पाँचतले भवनमा दिउँसो १ः३० बजे आगो सल्किएको थियो । भवनमा आगलागी हुनुको कारण भने खुलेको छैन ।
उक्त भवनमा बस्ने अधिकांश मानिसहरू बसोबासको कागजपत्र नभएका आप्रवासी रहेको बताइएको छ । प्रयोगविहीन अवस्थामा छाडिएको उक्त भवनमा घरबारविहीन मानिसहरू बस्ने गरेको बीबीसीले जनाएको छ ।
आपत्कालीन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले आगलागीमा परी ७३ जनाको मृत्यु भएको र ५० जना घाइते भएको जानकारी दिएका छन् । भवनमा खोजी र उद्धार कार्य जारी छ । केही मानिस भवनभित्रै रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान छ ।
राष्ट्रपति सिरिल रामापोसाले आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारमा समवेदना प्रकट गरेका छन् ।