समाजवादी मोर्चा बन्दा कांग्रेसमा चिसो होइन तातो पसेको छ, यो सरकार ढल्दैन : माधव नेपाल
सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार कुनै पनि हालत नढल्ने बताएका छन् ।
समाजवादी मोर्चाले आज सुर्खेतमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेकाले सरकार नढल्ने बताए ।
समाजवादी मोर्चा बन्दा सरकार ढल्छ कि भन्ने आंकलनहरु पनि भइरहेको भन्दै उनले भने, ‘मोर्चा बन्दा कांग्रेसलाई चिसो पस्यो कि भन्ने आंकलनहरु भइरहेका छन्, त्यो गलत हो बरु वर्तमान सरकार बचाउनका लागि भूमिका निर्वाह गर्ने भएकाले तातो पसेको छ ।’
नेता नेपालले नेपाली विशेषताको समाजवाद निर्माणमा समाजवादी मोर्चाले महत्त्वपूर्ण भूमिका खेल्नेसमेत बताए । समाजवादी मोर्चा जनताको पक्ष र जनतालाई सुखी बनाउनका लागि बनाइएको बताउँदै मोर्चामा रहेका दल र नेताहरुबीच पालिका तहदेखि नै एक आपसमा समझदारी हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले एमसीसी संविधानमाथि नहुने भनेपछि आफूहरुले सहमति जनाएको भन्दै यदि अनुचित सम्झौता भए स्वीकार्य नहुने स्पष्ट पारे ।