रुसको पस्कोभ विमानस्थलमा ड्रोन आक्रमण, राजधानी मस्कोको आकाश बन्द

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । रुसको उत्तरपश्चिमी सहर पस्कोभको एक विमानस्थलमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट विमानस्थलमा रहेका दुई वटा सैन्य विमानमा क्षति पुगेको छ ।

ढुवानी गर्ने विमानहरूमा आक्रमणबाट आगलागी भएको रुसी सन्चार माध्यमहरुले जनाएका छन् । यो आक्रमणबाट मानवीय क्षति भने नभएको र रुसले प्रतिकार गरिरहेको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक भिडियोमा आक्रमणपछि विमानस्थल क्षेत्रमा आगो लागेको देखिन्छ ।

पस्कोभ युक्रेनबाट करिब ६०० किलोमिटर टाढा इस्टोनियाको सिमाना नजिक पर्दछ ।

यो आक्रमण युक्रेनले गराएको हुनसक्ने बताइएको छ । यद्यपि युक्रेनले आक्रमणबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । त्यसो त युक्रेनले रुसभित्र गरिएका आक्रमणबारे खासै प्रतिक्रिया सार्वजनिक गर्दैन । पछिल्लो केही महिनायता युक्रेनले रुसमा विस्फोटक ड्रोनहरुको प्रयोग बढाएको बताइन्छ ।

रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पत्रकारहरुसँग कुरा गर्दै यो आक्रमणमा युक्रेनको हात रहेको भन्दै आक्रमण गर्नेहरु दण्डबाट मुक्त नहुने बताएकी छन् ।

यसैबीच पस्कोभको विमानस्थलमा आक्रमण भएपछि रुसले राजधानी मस्कोको भिन्नुकोभो विमानस्थल माथिको हवाई क्षेत्र बन्द गराएको रुसी समाचार संस्था तासले जनाएको छ ।