एसियाकपमा नेपालको ऐतिहासिक दिनः पाकिस्तानसँगको खेल यसकारण हुने छ रोमाञ्चक

मूलखबर संवाददाता
काठमाडौं

एसिया कप क्रिकेटको १६ औँ संस्करण आज बुधबार सुरु हुँदैछ । पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने यो प्रतियोगितामा नेपाल पहिलो पटक सहभागी हुँदैछ । पहिलो दिन नेपालले आज आयोजक पाकिस्तानको सामना गर्नेछ ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले पाकिस्तानसँग भिड्न आफूहरु तयार भएको बताएका छन् । सोमपाल कामी चोटमुक्त भएका छन् । करण केसीसँग मिलेर पेश बलिङको जिम्मा उनले उठाउनेछन् । गुल्सन झालाई प्रतियोगितामा चम्किन सक्ने खेलाडीका रुपमा हेरिएको छ । दिपेन्द्र सिंह ऐरी फर्ममा फर्कने अपेक्षा गरिएको छ ।

पाकिस्तानसँगको भिडन्त नेपालका लागि सहज भने हुनेछैन । उसका तिब्र गतिका तीन बलरले प्रतिघण्टा १५० किलोमिटर भन्दा बढीको स्पिडमा बल फाल्न सक्छन् । जुन नेपाली ब्याट्स्म्यानका लागि समस्या हुनसक्छ ।
पाकिस्तानलाई अलराउन्डरमा भने समस्या देखिएको छ । मोहम्मद वासिम फिट देखिएमा फहिम अशरफ वा मोहम्मद नवाजलाई बाहिर राख्नुपर्ने हुन सक्छ । यी मध्ये दुवैले खेल्न नपाउने सम्भावना पनि छ ।

विश्वकपभन्दा नौ वर्ष कान्छो हो, एसिया कप। क्षेत्रीय स्तरको यो प्रतियोगिता सन् १९८४ (यूएई) देखि सुरु भएको हो। विश्वकप भने पहिलो पटक सन् १९७५ मा इङ्गल्यान्डमा आयोजना भएको थियो। एक दिवसीय विश्वकपको १२ वटा संस्करण मात्र आयोजना भएको छ।। महादेश स्तरको प्रतियोगिता भए पनि यसले निकै ठूलो चर्चा बटुल्ने गरेको छ। एसिया कप सकिएको करिब एक महिनापछि आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको १३ औँ संस्करण सुरु हुनेछ। त्यो पनि छिमेकी देश भारतमै।

६ राष्ट्र सहभागी, नेपाल पहिलो पटक
यस पटक एसिया कपमा ६ राष्ट्र सहभागी हुँदैछन् । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र नेपाल छन्। समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन्। भारत, पाकिस्तान र श्रीलङ्का एसिया कपका पूर्वविजेता हुन्। भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि जितेको छ। श्रीलङ्काले ६ र पाकिस्तानले दुई पटक जितेका छन्।

बङ्गलादेश र अफगानिस्तानले एसिया कपको उपाधि चुम्न सकेका छैनन्। नेपालले त पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको हो। एसिया कपको सबै संस्करणमा सहभागिता जनाउने एक मात्र राष्ट्र श्रीलङ्का हो।
श्रीलङ्काले १६ औँ पटक एसिया कप खेल्न लागेको हो। भारत, पाकिस्तान र बङ्गलादेशले भने हालसम्म १४–१४ पटक एसिया कप खेलेका छन्। हालसम्म हङकङले चार तथा अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) ले तीन–तीन पटक एसिया कप खेलेका छन्।

नेपाल घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै एसिया कपका लागि छनोट भएको हो। एसिया कपको उद्घाटन खेलमा आयोजक पाकिस्तानसँग नवप्रवेशी नेपाल भिड्दैछ। नेपालको राष्ट्रिय टोलीले कुनै पनि फर्म्याटमा पहिलो पटक पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । पाकिस्तान अहिले एकदिवशीय विश्व वरीयतामा पहिलो नम्बरमा छ । एसिया कप सुरु हुनुभन्दा ठीकअघि पाकिस्तान वरीयताको पहिलो स्थानमा उक्लिएको हो ।

नेपाल भने १५औँ स्थानमा छ। नेपाल र पाकिस्तानबीचको खेल मुल्तान रङ्गशालामा दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। तीस हजार दर्शक क्षमताको मैदानमा यो खेल भइरहँदा तापक्रम भने नेपालका लागि अनुकुल हुनेछैन । किनकी मुल्तानमा अहिले निकै गर्मी छ । प्रतियोगिताका क्रममा ३८ डिग्री सेल्सियस तापक्रम हुने बताइएको छ ।

नेपालले भदौ १८ मा भारतसँग श्रीलङ्कामा खेल्नेछ। भारत एक दिवसीय वरीयतामा तेस्रो स्थानमा छ। एसिया कप ३१ भदौसम्म चल्नेछ।