संसदीय समिति आरजूले कब्जा गरेपछि कांग्रेसमा किचलो, संस्थापनमै पनि असन्तुष्टि

मूलखबर संवाददाता
काठमाडौं

सदैव गुटगत झमेलामा पर्ने नेपाली कांग्रेसमा संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदीय समितिका सभापतिमा पात्र चयनले पुनी असन्तुष्टि देखिएको छ । संस्थापन पक्षले एकलौटी गरेको भन्दै इतर समूहले आफ्नो भागमा परेको संसदीय समितिको सभापति पद नै अस्वीकार गरेको छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भागबण्डा गर्दा कांग्रेसलाई चार समितिको सभापति भाग परेको थियो । त्यसमा इतर समूहले आफूहरूलाई दुई समिति सभापति दिनुपर्ने अडान राखेको थियो । तर, सभापति शेरबहादुर देउवा र संस्थापनले तीन समिति सभापति राखेर इतरलाई एउटा दिएपछि इतर समूह असन्तुष्ट बनेको हो । 

आफूले मागेजति नपाएपछि इतर समूहले समिति सभापति अस्वीकार गरेको छ । इतर समूहबाट संसदीय सुनुवाइ समितिको सभापति बन्ने भनेर प्रचार गरिएका सहमहामन्त्री जीवन परियारले सभापति पद अस्वीकार गरेको बताएका छन् । ‘म सुनुवाइ समितिको सभापति हुन्न । पार्टी नेतृत्वले अरुकै नाम पठाउनु होला,’ परियारले सभापति देउवालाई सन्देश पठाउँदै भनेका छन् ।

दिउँसो बसेको इतर समूहको अनौपचारिक बैठकपछि परियार यस्तो निर्णयमा पुगेको निकटस्थ स्रोतले बतायो । कांग्रेसबाट प्रतिनिधि सभाको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, सुशासन समितिको सभापति रामहरि खतिवडा र कृषि समितिको सभापतिमा आरजु राणा निर्वाचित भएका छन् । खतिवडा र राणा संस्थापनका खास हुन् भने चालिसे प्रकाशमान निकट मानिन्छन् ।

संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापति इतर समूहले अस्वीकार गरेपछि देउवा अफ्टेरोमा परेको बताइन्छ । देउवा अफ्टेरो परेपछि उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राष्ट्रपति रामचन्द्र पौडेललाई मनाउन आग्रह गर्न पठाएको निकटस्थ स्रोत बताउँछ । संस्थापनले मागेजति नदिएपछि इतर समूहको प्रतिनिधित्व गर्ने महामन्त्री गगन थापाले पनि ठूला ठूला भ्रष्टाचारका काण्डहरू त्यत्तिकै सामसुम बनाउने खेल भएको भन्दै सबै दलका भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्नेहरू एक हुन सामाजिक सञ्जालमा आह्वान गरेका छन् ।

संस्थापनकै सांसदले पनि गरे व्यङ्ग्य

आरजुको नियुक्तिबाट देउवा निकटकै सांसदहरू पनि खुसी छैनन्, फरक गुटका सांसदहरु खुसी त कुरै भएन । देउवा इतर गुटका सांसदहरू व्यंग्यमा उत्रिएका छन्, ‘देउवा गुटमा अब योग्य पात्र आरजुमात्रै रहिछन् ।’

आरजु राणा लोकतन्त्र बहालीपछि कांग्रेसमा लगातार अवसर पाउनेमा पर्छिन् । लोकतन्त्र बहालीपछि लगातार दुई पटक समानुपातिक सांसद बनिन् । २०७४ को प्रत्यक्ष चुनावमा होमिइन्, मतदाताले उनलाई मन पराएनन् । फेरि २०७९ मा समानुपातिक सांसदको कोटामा सांसद बनिन् । यतिखेर राज्यमन्त्रीसरहको सुविधा भोग गर्न पाइने कृषि तथा प्राकृतिक स्रोत साधन ससितिकै सभापति बनिन् ।

उनी पाँच पटक प्रधानमन्त्री बनिसकेका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी हुन् । कठोर राणा शासक जुद्धशमशेरकी नातिनी आरजुले शेरबहादुर देउवासँग २०५१ असारमा विवाह गरेकी थिइन् । जहानिया शासक जुद्ध शमशेरकै पालामा प्रजातन्त्रको माग गर्दा चार सहिद बनेका थिए । ‘जहान’भन्दा बाहिर शासकीय नदिने हुँदा राणा शासनलाई ‘जहानिया शासन’ भनिन्थ्यो ।

आरजु कृषि समिति सभापति बन्दा राजनीतिक वृत्त र जनमानसमा टिकाटिप्पणी बाक्लिएको छ । देउवा गुटकै एक कांग्रेस सांसदले भने, ‘‘सभापति देउवा आफैँले पत्नी आरजुलाई समिति सभापति बनाउन चाहनुभएको हो ।”
देउवा समर्थक सांसदहरु पनि ठट्टामा जवाफ फर्काइरहेका थिए, “हाम्रो टिममा राणा शासन चलिरहेको छ । त्यहाँ ‘ए’ ग्रेड र ‘बी’ ग्रेडले अवसर पाइरहेका छन् । हामी त तपाईंहरू जस्तै ‘सी’ ग्रेडका भयौं ।”

सोमबार आरजुले संसदीय समितिको सभापतिमा शपथ लिएकी छन् । त्यसअतिरिक्त ९ जनाले पनि समिति सभापतिले शपथ लिएका छन् । आइतबार समिति सभापतिका लागि मनोनयन दर्ता गर्दाकै बखत आरजुको चर्चा चुलिएको थियो, पक्षमा होइन, विपक्षमा । अनि उमेदवारी दर्ता गराएपछि आरजुले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको सञ्चारकर्मीहरूसँग बताएकी थिइन् ।

“समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ,’’ उनले भनेकी छिन्, ‘‘समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरूलाई उनीहरूको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ कि छैन, साथै जनताको सहजता भएको छ कि छैन ? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरू हुन्छन् ।”

उनले संसदीय समितिमा काम गर्ने धेरै ठाउँ भएको बताइन् । ‘‘सहकारीको अनियमितता धेरै छ,’’ उनले भनिन्, ‘‘जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडी अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ । म पनि कृषकको छोरी हो, सानैदेखि कृषि क्षेत्रमा के–के भएन भन्ने याद छ ।”

आरजुको उक्त अभिव्यक्तिको पनि चर्चा भइरहेको छ । काठमाडौंको राणा परिवारको सुख–सयलमा हुर्किदै विदेशी नियोगमा जागिर खाएकी थिइन् । आरजुले शेरबहादुर देउवा गृहमन्त्रीमा बहाल भएकै बखत विवाह गरेकी हुन् ।

पछिल्ला हरेक काण्ड–प्रकरण आउँदा उनी विवादमा तानिने गर्छिन् । ललिता निवास काण्ड, वाइडवडी खरिद घोटाला काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, टिकापुर जग्गा प्रकरणसम्म आरजुको नाम छुट्दैन । उनीमाथि आरोप जति लागेपनि अनुसन्धानको दायरामा परेकी छैनन् । त्यसो हुँदा ती केवल आरोपमै सीमित छन् ।