ललिता निवास प्रकरणमा राष्ट्रपतिका सम्धीसहित २९० जनाविरुद्ध मुद्दा दर्ता

मूलखबर संवाददाता
काठमाडौं

१० भदौ, काठमाडौं । बालुवाटारको ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा किर्ते मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार २९० जना विरुद्ध मुद्दा दर्ता गरेकोे जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । ‘ललिता निवास प्रकरणमा २९० जनालाई प्रतिवादी बनाइएको छ। जसमा १७ जनालाई अदालतमा उपस्थित गराइएको छ भने बाँकीलाई फरार भनिएको छ,’ दाहालले  भने।

यो प्रकरणमा १८ अर्ब बिगो दाबी गरिएको छ भने ५२ जनाबाट जग्गा जफत गर्न माग दाबी गरिएको छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गरेको थियोे । उसले संगठित र किर्ते दुबै मुद्दा चलाउनुुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियोे । तर सरकारी वकिलको कार्यालयले किर्ते मुद्दा मात्र दर्ता गरेको छ ।

सरकारी वकिलको कार्यालयले नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री तथा भूमिसुधार मन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेेव जोशी तथा पूर्व राज्यमन्त्री सञ्जय साहविरुद्ध मुद्दा दर्ता भएको छ ।

यसैगरी बहालवाला सचिच कृष्णबहादुर राउत, पूर्वसचिव दीप बस्न्यात, युवराज भुसाल, छविराज पन्त, नारायण गोपाल मलेगो, दिनेशहरि अधिकारी, सहसचिव सुशील वैद्य लगायतविरुद्ध पनि मुद्दा दर्ता भएको छ । पूर्वसचिव युवराज भुसाल राष्ट्रपति रामचन्द्र पौडेलका सम्धी हुन् ।

२०६६ चैत २९ गते, २०६७ वैशाख ३१ गते, २०६७ साउन २८ गते र २०६९ असोज १८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयको आधारमा सरकारी जग्गा व्यक्तिगत बनाएर किनबेच भएको थियो। २०६६ र २०६७ सालमा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले बालुवाटरको बाटो विस्तार गर्ने निर्णय गरेको थियो। २०६९ सालमा सरकारले पशुपतिको टिकिन्छा गुठीको नाममा बालुवाटारको जग्गा छुट दर्ताको अनुमति दिने निर्णय गरेको थियो।

यी दुवै निर्णयपछि सरकारी जग्गा किनबेच भएको थियो। यही प्रकरणको फाइल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले खोलेर अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाएको थियोे ।