
नेपालमै पहिलोपटक पोखरीको पानीमा गुड्यो साइकल
९ भदौ, भक्तपुर । सडकमा साइकल त कुदाउनु भएकै होला । तर कहिल्यै पोखरीको पानीमाथि साइकल कुदाउनु भएको छ ? प्रश्न अचम्म लाग्यो होला है ? तर अचम्म मान्नु पर्दैन । नेपालमा पहिलोपटक भक्तपुरमा पोखरीको पानीमाथि साइकल कुदाउन पाइने भएको छ ।
भक्तपुर नगरपालिका वडा नम्बर १ मा पर्ने ‘नः पुखुः’ नामको पोखरीको पानीमाथि साइकल कुदाउन पाइन्छ । भक्तपुरको दूधपाटीस्थित सिद्धपोखरी हुँदै करिब एक सय मिटर अघि बढेपछि इताछें भन्ने ठाउँमा नः पुखु पर्दछ ।
आज शनिबारको दिन भक्तपुर नगरपालिकाका खेलकुद संयोजक समेत रहेका वडा नम्बर १ का वडाअध्यक्ष श्यामकृष्ण खत्रीले यसको उदघाटन गरेका छन् ।
पानीमा चल्ने साइकल (वाटर साइकल) टिएन एड्भेन्चर्स नामको संस्थाले भक्तपुर नगरपालिकासँग सहकार्य गरी सञ्चालनमा ल्याएको हो । ‘वाटर साइकल’बाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास छ ।
