
नेकपा एसको घरझगडा छताछुल्लः एउटै विषयमा माधव-झलनाथको परस्पर विरोधी दस्तावेज
नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको मतभेद झनै चर्कोगरी बढ्ने देखिएको छ। पार्टीमा निराशा र पलायन हुने क्रम बढ्नुको कारणबारे दुई नेताबीच प्रस्ट मतभिन्नता देखिएको छ ।
सम्मानित नेता खनालले एमालेसँग सैद्धान्तिक र नीतिगत रूपमा भिन्न देखिन नसक्दा पार्टीमा निराशा पैदा भएको र त्यसका कारण पलायन हुने क्रम बढेको बताएका छन् । ‘हाम्रो पार्टी र एमालेको सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन नसक्नु, एमालेमा जस्तै अहिले पनि जबजकै धङधङी रहँदा ठूलो संख्यामा विद्रोह गरेर आएका नेता कार्यकर्ताहरू वैचारिक-सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ,’ २१-२२ साउनमा बसेको स्थायी कमिटी बैठकमा पेस गरेको लिखित दस्तावेजमा खनालले भनेका छन्
खनालले औँल्याएको पलायनको त्यो कारणप्रति अध्यक्ष नेपाल सहमत देखिँदैनन् । मंगलबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा राजनीति प्रतिवेदनमा उनले एमाले र आफ्नो पार्टीबीच सात भिन्नता पेस गरेका छन् । एमालेसँग आफ्नो पार्टी सैद्धान्तिक रूपमै भिन्न रहेको जिकिर गर्दै अध्यक्ष नेपालले भनेका छन्, ‘हामी मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौँ भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ ।’
एकपछि अर्को नेता पार्टी परित्याग गरी एमालेमा फर्किन लागेपछि एकीकृत समाजवादीमा निराशा छाएको छ । अध्यक्ष नेपालले पार्टी पंक्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायनता देखिएको उल्लेख गर्दै चाहे जसरी पार्टी अगाडि बढ्न नसकेको बताएका छन् । तर, त्यसको कारण भने दुई नेताले भिन्न औँल्याएका छन् ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको छैठौं बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । त्यसलगत्तै बोलेका सम्मानीत नेता झलनाथ खनालले नेपालको प्रतिवेदनमा ‘काउन्टर’ दिए । साउन २० गतेको स्थायी कमिटी बैठकमा राखेको फरक मतलाई नै विस्तृत रुपमा प्रस्तुत गरे ।
उनले नेपालको प्रतिवेदनमाथि टिप्पणी गर्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे फरक मत राखेका छन् । राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नेकपा (एमाले) बाट अलग हुनुको औचित्य पुष्टि भएको जिकिर गरेका छन् ।
संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधि सभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने र संविधानलाई क्रियाशील बनाउने विद्रोहका मुख्य लक्ष्य प्राप्त भएकाले औचित्य पुष्टि भएको दाबी नेपालको छ ।
“हामीले विद्रोह मुलुकलाई प्रतिगमनको भूमरीमा धकेल्ने दक्षिणपन्थी विसर्जनवादका विरुद्ध गरेका थियौँ । अर्को शब्दमा भन्नुपर्दा हामीले विद्रोह प्रतिगमनका विरुद्ध गरेका थियौँ । प्रतिगमनलाई परास्त गरी जनवादी क्रान्तिका उपलब्धीको रूपमा रहेका संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधि सभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने र संविधानलाई क्रियाशील बनाउने हाम्रो विद्रोहका मुख्य लक्ष्य थिए । ती लक्ष्य प्राप्त गर्न हामी सफल भएका छौँ,” राजनीतिक प्रतिवेदनमा उल्लेख छ, “प्रतिगमनलाई परास्त गरिएको छ । संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको छ । प्रतिनिधि सभा पुनःस्थापित भएर पूर्ण कार्यकाल कृयाशील रहेको छ । संविधान क्रियाशील भएको छ र सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न भएका छन् । जनताले आफ्नो अधिकार प्रयोग गरी तीनै तहमा नया नेतृत्व चयन गरेका छन् । हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएनन् । यस अर्थमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ ।”
तर, नेता खनालले भने पार्टीमा व्यापक असन्तुष्टि रहेको बताए । नेतृत्वले विद्रोहका राजनीतिक सैद्धान्तिक, वैचारिक, दार्शनिक, सांगठनिक, सांस्कृतिक, विधिगत सबै पक्षबाट विद्रोहको पुष्टि गर्नुपर्नेमा खनालको जोड छ ।
“अहिले विद्रोह भएको २ वर्ष पुग्दा पनि पार्टीमा व्यापक रुपमा विद्रोहको औचित्य सावित भएन भन्ने असन्तुष्टि रही रहेको देखिन्छ,” खनालले बैठकमा भनेका छन्, “हामीले दक्षिणपन्थी अवसरवादका विरुद्ध, गुटवादका विरुद्ध, व्यक्तिवादका विरुद्ध विद्रोह गरेको भन्यौं । तर, त्यो विद्रोहको राजनीतिक सैद्धान्तिक, वैचारिक, दार्शनिक, सांगठनिक, सांस्कृतिक, विधिगत सबै पक्षमा अहिलेसम्म पुष्टि गर्ने काम भएको छैन । त्यस्ता कुनै दस्तावेजहरु नेतृत्वबाट तयार हुन सकेनन् । यो काम नेतृत्व बाहेक अन्तबाट हुन सक्ने काम पनि होइन ।”
जबजको औचित्य छ : नेपाल, खनाल भन्छन्– कालातीत भइसक्यो
पार्टीको मार्गदर्शक सिद्धान्तबारे महाधिवेशन अघि नै टुंग्याएर जानुपर्नेमा नेताहरुको जोड छ । यसअघि बसेको स्थायी कमिटी र पोलिट्ब्यूरो बैठकमा बोलेका नेताहरुले महाधिवेशनमा जानुअघि नै नमिलेका कुराहरु मिलाएर जानुपर्ने बताएका थिए । जबज मान्ने कि नमान्ने भन्ने विषयमा एकीकृत समाजावादीमा मतभेद छ । अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा जबजको सान्दर्भिकता रहेको उल्लेख छ ।
“नेपाली विशेषताको समाजवाद लोकतान्त्रिक मूल्य मान्यतासहितको हुनेछ भन्ने मान्यता पनि राखेका छौँ । जबजले केवल राज्यसत्ताको मात्र होइन कम्युनिष्ट आन्दोलन र पार्टीको लोकतान्त्रिकरणको मान्यता पनि राखेको छ । साथैै प्रतिस्पर्धा र पहलकदमीद्वारा श्रेष्ठता एवं अगुवाइ हासिल गर्ने मान्यता पनि जबजले राखेको छ,” नेपालले भनेका छन्, “यी सबै सन्दर्भमा जबजको सान्दर्भिकता छ । तथापि जबज समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त भने होइन । समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । यसमा हाम्रो पार्टी प्रष्ट छ ।”
सम्मानित नेता खनालले भने बहुदलीय जनवाद भनेको पुँजीवादी प्रणाली भन्दै त्यो कालातीत भइसकेको र त्यसको सान्दर्भिकता नरहेको बताएका छन् ।
“बहुदलीय जनवाद भनेको पुँजीवादी जनवाद नै हो । त्यसमा कसैले भ्रममा पर्नु जरूरी छैन । बहुदलीय प्रणाली चाहिँ वर्गभन्दा बाहिरको कुरा होइन । त्यो नै पुँजीवादी प्रणाली हो,” खनालको फरक मतमा भनिएको छ, “हामीले हाम्रो देशमा जनवादी क्रान्तिको कालमा अघि सारेका नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद, जनताको बहुदलीय जनवाद सबै कार्यक्रमहरू आम रूपमा पुँजीवादी जनवादका कार्यक्रमहरू हुन् । ती सबै रूपका कार्यक्रमहरू पुँजीवादी क्रान्ति सम्पन्न भइसकेपछि ऐतिहासिक रूपले नै कालातीत भइसकेका छन् ।”
अब वैज्ञानिक समाजवादको कार्यक्रमबाट अघि बढ्नुपर्ने उनको भनाइ छ । “अब हामीले हाम्रो कार्यक्रमलाई समग्र रूपमा नै परिवर्तन गर्नुपर्छ । त्यो कार्यक्रम भनेको एक मात्र वैज्ञानिक समाजवादको कार्यक्रम हो । त्यो भनेको नेपाली विशेषताको समाजवादी कार्यक्रम हो,” उनले भनेका छन् ।
त्यस्तै, खनालले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी सम्मिलत मोर्चा गठनमा प्रश्न उठाएका छन् । उनले यसअघि पनि मोर्चाबारे प्रश्न उठाएका थिए । खनालले मोर्चा गठनका लागि प्रधान शत्रु चाहिने भन्दै प्रधान शत्रु को हो ? भनी प्रश्न गरेका छन् ।
नेपालले भने पार्टीलाई मोर्चाले बलियो बनाउने बताएका छन् । उनले गठबन्धनबाट पनि पछि हट्न नसक्ने बताएका छन् ।
“समाजवादी मोर्चामा रहँदा पार्टी कमजोर हुन्छ भन्ने होइन । मोर्चामा रहनु भनेको त्यसैमा विलय हुने भन्ने होइन । मोर्चामा रहँदैमा पार्टीको स्वतन्त्र अस्तित्व समाप्त हुने होइन । मोर्चामा रहेको बेलामा पनि पार्टीको आफ्नो स्वतन्त्र अस्तित्व रहिरहन्छ र पार्टीले आफ्ना कार्यक्रम र क्रियाकलाप स्वतन्त्र रूपमा सञ्चालन गरिरहन्छ । साझा कार्यक्रम मोर्चाबाट गरिन्छ भने पार्टीका आफ्ना कार्यक्रम स्वतन्त्र रूपमा चलिरहन्छन् । त्यसैले मोर्चामा रहँदैमा पार्टी कम्जोर हुँदैन बरु पार्टीलाई बलियो बनाउन सहयोग नै पुग्दछ । विगतमा पनि कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा बनाएर काम गरेको थियो र त्यसबाट पार्टी विस्तारमा सहयोग पुगेको थियो,” नेपालको प्रतिवेदनमा उल्लेख छ , “हाम्रा आन्तरिक कमजोरीलाई इमान्दारीपूर्वक स्वीकार गर्न र हटाउन सक्दा, हामीले विकसित गरेका नेपाली क्रान्तिका सिद्धान्तहरूलाई स्पष्ट पार्न सक्दा र हाम्रो सम्पूर्ण सामर्थ्यलाई सङ्गठित गर्न सक्दा नेकपा (एकीकृत समाजवादी) ले क्रान्तिकारी तथा प्रगतिशील शक्तिहरूको ध्रुवीकरणमा नेतृत्व गर्न सक्छ ।”
