ढुक्क हुनुस् अहिलेको सत्ता गठबन्धन तोडिँदैन : अनन्त
५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले अहिलेको सत्ता गठबन्धन नतोडिने स्पष्ट पारेका छन् । अहिलेको सरकारले सुशासनको पक्षमा गरिरहेको कामबाट अत्तालिएकाहरुले नयाँ गठबन्धनको विकल्पमा छलफल चलाइरहे पनि उनीहरु सफल नहुने बताए ।
नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समिति अन्तर्गतको सञ्चार–साँस्कृतिक महाशाखाको तेस्रो पूर्ण बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै नेता अनन्तले अहिलेको गठबन्धन नतोडिने र प्रचण्ड नेतृत्वकै सरकारले जनपक्षीय काम गर्ने बताए ।
विभिन्न कोणबाट माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर राखेर अरु पार्टीलाई सरकारमा ल्याउन शक्ति केन्द्रहरु लागेको बताउँदै उनले भने, ‘दुई–तीनवटा अप्सनहरुमा सल्लाह गरिराख्या छन् । तर ढुक्क हुनुस्, यो गठबन्धन भत्किने सम्भावना छैन किनभने हाम्रो सम्मानीय प्रधानमन्त्रीले, अहिलेको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा काम गरिरहेकाले जनसमर्थन छ । त्यसैले उनीहरुलाई सजिलो छैन ।’
यो माओवादी केन्द्रको शक्ति भएको भन्दै उनले यो शक्तिलाई जनतासँग अझै नजिकबाट जोडेर संगठन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसैका लागि माओवादी केन्द्रले जनतासँग जोडिन तीन महिने विशेष अभियान सन्चालन गरिरहेको जानकारी उनले दिए ।
माओवादीले पुरानै शक्ति आर्जन गर्न नसके, कुनै पनि बेला माओवादी माथि प्रहार हुन सक्ने उनको भनाइ छ । यो विशेष अभियानको क्रममा जनतामा जान, उनीहरुका समस्या पहिल्याउँदै समाधान गर्न र संगठनमा जोड्दै पार्टीलाई सुदृढ बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
आफ्नो कुनै योजना भए पार्टी संगठनमा लागु गराउन र काम गर्न नसक्ने भए अरुलाई काम गर्न दिन उनले निर्देशन दिए । पद ओगट्ने तर काम नगर्ने शैलीका कारण पार्टी खुम्चिँदै गएको भन्दै उनले यो अभियान हरेक माओवादी नेता–कार्यकर्ताका लागि आफू रुपान्तरित हुने अवसरसमेत भएको बताए ।
सिंगो देश गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता लगायतका माओवादीका एजेण्डामा चलिरहेको कुरा जनतालाई बुझाउन र सरकारले गरिरहेका राम्रा कामको प्रचार गर्न पनि उनले निर्देशन दिए ।