यसरी जोगियो कोशीमा उद्धव थापाको सरकार
मुलखबर विराटनगगर।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । थापाले सोमबार बसेको प्रदेशसभा बैठकको मत विभाजन प्रक्रियाबाट आफूमाथि सदनको विश्वास रहेको सिद्ध गरेका हुन् ।
थापालाई ९३ सदस्यीय प्रदेशसभामा सरकारलाई निरन्तरता दिन कम्तीमा ४७ सांसदको समर्थन चाहिन्थ्यो । उनलाई ठ्याक्कै ४७ सांसदले मात्रै मत दिए । यससँगै थापा नेतृत्वको सरकारले निरन्तरता पाएको छ ।
विश्वासको मत पाउँ भनि मुख्यमन्त्री थापाले पाएको प्रस्तावको विपक्षमा ३० मत पर्यो । बैठकमा जम्मा ७७ सांसदको उपस्थिति रहेको थियो ।मुख्यमन्त्री थापालाई प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेका अध्यक्ष मण्डलका सदस्य इस्राईल मन्सुरीले समेत मतदान गरेका छन् । यदि उनले मतदान नगरेको भए थापा नेतृत्वको सरकारले निरन्तरता पाउँदैनथ्यो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने मन्सुरीले हस्ताक्षर गर्नका लागि अध्यक्ष मण्डलका अर्का सदस्य गीता तिम्सिनालाई सभामुखको आसनग्रहण गराउनेबित्तिकै नाराबाजीमा उत्रिएका थिए ।
मन्सुरीले नाराबाजीकै बीच हस्ताक्षर गरेर सभामुखको आसनग्रहण गरेर मत विभाजनको परिणाम घोषणा गर्न आदेश दिए । यसअघि पनि सरकार निर्माण प्रक्रियामा प्रयोग भएको सभामुख बाबुराम गौतमको हस्ताक्षरका कारण थापा सर्वोच्च अदालतबाट अपदस्थ हुनुपरेको थियो ।