प्रधानमन्त्री प्रचण्ड रामेछापको दोरम्बामा, तस्बिरमा हेरौँ
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्ला दिनमा केही चिसिएको भएपनि अब पुरानै अवस्थामा ल्याइने बताउनुभएको छ ।
बिहीबार(आज) रामेछापमा आयोजित २० औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पार्टी सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध केहि टाढिएको र केहि चिसिएको भन्दै त्यो अवस्थाको सुधार ल्याइने बताउनुभयो । ‘जनता र हामीबीचको सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागेका छौं, प्रचण्डको भनाइ छ ।
प्रचण्डले हिजो माओवादी रक्तपातपूर्ण क्रान्तिमा भएपनि आज समाजवादका निम्ति रूपान्तरणको शान्तिपूर्ण अभियानमा जुटेको बताए । ‘अब फेरि जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार भएर समाजवादी क्रान्ति सफल बनाउन आवश्यक छ’, प्रचण्डले भने, ‘आउने ३ महिनामा नयाँ एउटा वातावरण बन्छ, बन्छ । अर्को ३ महिनामा हाम्रो पार्टी जीवन्त पार्टीका रूपमा पुर्याएर आगामी निर्वाचनमा २०६४ को निर्वाचन जस्तै परिणाम ल्याउन गाह्रो छैन ।’
यस्तै, कार्यक्रममा पीडित परिवारलाई सम्मान गरिएको थियो । २०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालीन विद्रोही पक्षले युद्ध विरामको घोषणा गरेकै बेला सरकार र माओवादीबीच वार्ता भइरहँदा दोरम्बा घटना भएको थियो । उक्त घटनामा नेपाली सेनाले नियन्त्रणमा लिएका माओवादीका २१ नेता कार्यकर्ताको हत्या गरेको थियो ।