जीतपुरसिमरामा नि:शुल्क रुपमा रोग बिशेषज्ञ डाक्टरको सेवा पाउने
जीतपुरसिमरा उपमहानगरपालिकाबासीले अब निशुल्क रुपमा रोग बिशेषज्ञ डाक्टरको सेवा पाउने भएका छन् ।
बर्षौदेखि स्वास्थ्य अधिकृत र अहेबको भरमा सञ्चालन हुँदैँ आएको स्वास्थ्य संस्थामा रोग बिशेषज्ञ डाक्टर(एम.डि.जि.पि.) र मेडिकल अधिकृत (एम.बि.बि.एस डाक्टर) पठाईएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल लगायत निर्वाचित जनप्रतिनिधिको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँन गरिएकोे प्रयासले सफलता प्राप्त गरेको छ । उपमहानगरपालिकाको कुनै पनि गरिब,दुखी उपचार अभावमा अकालमै ज्यान गुमाउँनु नपरोस भन्ने उदेश्य अनुरुप जीतपुरसिमरा उपमहानगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि सोहि अनुरुप ऐन,कानुन बनाई जनशक्ति भर्ना गरेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको यो कार्यको चारैतर्फ प्रशंसा भईरहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ निवासी साबित्री देबीले आर्थिक अभावमा उपचार नगराईरहेको अवस्थामा जीतपुरसिमरा अस्पतालका स्वास्थ्यकर्मीहरुले सहज रुपमै आफनो उपचार गरी बाहिर पाउँने औषधीहरु पनि आफनै पैसाले केही किनेर पठाई दिएको बताईन । उनले अस्पताल स्थापना हुँदा आफु जस्ता धेरै बिरामीहरुलाई सहज भएको सुनाईन ।
प्राथमिक स्वास्थ्य चौँकी सिमरालाई स्तर उन्नती गर्दै जीतपुरसिमरा अस्पतालमा परिवर्तन गरिएको छ । जीतपुरसिमरा अस्पतालमा एम.डि.जि.पि.पदका डाक्टर एक जना र मेडिकल अधिकृत ( एम.बि.बि.एस. डाक्टर ) चार जना पठाईएको छ । निशुल्क रुपमा रोग बिशेषज्ञ र मेडिकल अधिकृत डाक्टरको सेवा प्राप्त भएपछि बिरामीहरुको जीतपुरसिमरा अस्पतालमा भिड लाग्ने गरेको छ । त्यस्तै स्वास्थ्य चौकी जीतपुरलाई स्तर उन्नती गर्दै प्राथमिक स्वास्थ्य चौँकीमा परिवर्तन गरिएको छ । बिरामीको उपचार गर्न एम.बि.बि.एस तहका डाक्टर र ल्याब टेक्नीसिनीयन सहितको ल्याबको ब्यवस्था गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
त्यस्तै जीतपुरसिमरा अस्पतालका लागि दुई जना फार्मासिस्ट करारमा भर्ना गरिएको छ भने जीतपुर प्राथमिक स्वास्थ्य चौँकीको लागि एक जना फार्मासिस्ट भर्नाको तयारी गरिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बिरामीहरुको आवश्यक्तालाई मध्यनजर गरी उपमहानगरपलिकाले जीतपुरसिमरा अस्पताल र जीतपुर प्राथमिक स्वास्थ्य चौँकीलाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको हरेक वडामा आधारभुत स्वास्थ्य चौँकी स्थापना गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाईएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । भर्खरै मात्रै टाँगियाबस्ती,ईनर्वासिरा,पिलुवा,टाँगिया बस्ती,चकरी,छातापिपरा,फत्तेपुर लगायतको ठाउँमा स्टाफ नर्स भर्ना गरी पठाईएको जनस्वास्थ्य प्रबद्र्धन शाखाका राकेश चौधरीले जानकारी दिएका छन।