
प्रमुख आँखा अस्पतालमा ७० प्रतिशत बढि आँखा पाक्ने राेगका बिरामी, यसरी गराैं उपचार
आँखा पाक्ने समस्या देशव्यापी बन्दा प्रमुख आँखा अस्पतालमा ७० प्रतिशतभन्दा बढी बिरामी आँखा पाक्ने समस्याले आउने गरेका छन्।
तीमध्ये ५० प्रतिशत १५ वर्षमुनिका छन्। काठमाडौँ उपत्यकामा यो समस्या केही कम देखिए पनि उपत्यकाबाहिर भने ७० प्रतिशतमा आँखा पाक्ने समस्या रहेको छ।
तिलगङ्गा आँखा अस्पतालकी कार्यकारी निर्देशक डा. रीता गुरुङले उपत्यकाबाहिरका जिल्लाको तुलनामा काठमाडौँमा कम सङ्ख्यामा आँखा पाक्ने समस्याका बिरामी अस्पताल आउने गरेको जानकारी दिनुभयो। उहाँले तिलगङ्गा आँखा अस्पतालमा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म ओपिडीमा बिरामी जाँच हुने गरेकोमा २५० जनामा आँखा पाक्ने समस्या देखिएको जानकारी दिनुभयो।
नेपाल नेत्रज्योति सङ्घ मातहतका आँखा अस्पतालमा आँखा परीक्षण गराउन आउनेमध्ये ५० देखि ७० प्रतिशत बिरामी आँखा पाक्ने समस्याका आउने गरेको बताइएको छ। हिमालय आँखा अस्पतालकी मेडिकल निर्देशक तथा आँखा रोग विशेषज्ञ डा. इलिया श्रेष्ठले पोखरामा एक हजार जनामध्ये ६५० जना आँखा पाक्ने समस्या लिएर आउने गरेको जानकारी दिनुभयो।
यस्तै विराटनगर आँखा अस्पतालमा दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म आँखा उपचारका लागि आउने गर्छन्। तीमध्ये ५० प्रतिशतमा आँखा पाक्ने समस्या छ। अस्पतालका निर्देशक सुधीर ठाकुरले आँखा पाक्ने रोगका कारण अस्पतालमा बिरामीको चाप बढेको र सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेको बताउनुभयो।
नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले आँखा पाक्ने समस्याले प्रकोपको रूप लिइरहेको भन्दै सङ्घले मातहतका अस्पतालमा आँखा पाक्ने रोगमा केन्द्रित भएर सेवा प्रवाह गर्न निर्देशन दिएको उल्लेख गर्नुभयो।
नेपाल नेत्रज्योति सङ्घको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगन्जमा २० प्रतिशत, विनोद निता कँडेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, विराटनगर आँखा अस्पताल, विराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल लहानमा २० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको छ।
आँखारोग विशेषज्ञ डा. दीपक शाहले आँखा पाक्ने समस्या देखिएका बिरामीले चिसोले तथा बरफले आँखा सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने, सङ्व्रmमित आँखालाई छोएपछि राम्रोसँग हात धुने र बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गर्न सुझाव दिनुभयो।
आँखा पाक्ने समस्या भएका बिरामीमा अकस्मात् आँखा रातो हुने, आँखाको डिल सुन्निएर हेर्न समस्या हुने, आँखाबाट पानी बगिरहने, आँखा चिलाउने, पोल्ने र बिझाउने, आँखामा पहेँलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनेलगायतका समस्या देखिने गरेको छ ।- गाेरखापत्र
