जुलाई २९ बाघ दिवस, तेब्बर बढ्याे बाघकाे संख्या, चुनाैति पनि बढ्दै
आज जुलाई २९ । आज बाघ दिवस । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले जुलाई २९ लाई बाघ दिवसको रूपमा मनाउने निर्णय गरेको थियाे । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।
नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् ।
उनीहरुलाई जङ्गल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ ।
हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा दुई सय मानिसको मृत्यु भएको तथ्याङ्क छ । साथै क्षतिपूर्तिवापत सरकारले रु ६० करोडभन्दा बढी रकम बेहोरिसकेको छ ।
वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् । त्यसमध्ये पछिल्लो पाँच वर्षमा मुलुकभर बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा बाघको आक्रमणबाट १२, आव २०७८/७९ मा २१, आव २०७७/७८ मा १३, आव २०७६/७७ मा आठ र आव २०७५/७६ मा बाघको आक्रमणबाट चारको मृत्यु भएको थियो ।
विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताए ।
साथै उनले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए ।
बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।