विमानस्थल सुन तस्करी प्रकरणमा भन्सार विभागले बनायो छानबिन समिति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको एक सय केजी सुन बाहिरिएपछि भन्सार विभागले छानबिन समिति गठन गरेको हो । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।
“विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाहीँ प्राविधिक त्रुटिका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो”, सूचना अधिकारी खड्काले उल्लेख गरे ।
राजस्व अनुसन्धान विभागले बुधवार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले मङ्गलवार राति सुन बरामद गरिएको र उक्त सुन भन्सार विभागमार्फत सुरक्षित भण्डारणका लागि नेपाल राष्ट्र बैङ्क पठाइएको बताए ।