कोरोना बीमा दाबी भुक्तानी गरेका बीमितले भुक्तानी तत्काल नपाउने
कोरोना बीमा दाबी भुक्तानी गरेका बीमितले भुक्तानी तत्काल पाउने सम्भवना छैन ।
नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार सरकारबाट अहिले रकम निकासा नभएको र बीमा प्राधिकरण, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले रकम दिन सक्ने स्थिति नभएका कारण तत्काल भुक्तानी पाउने सम्भावना छैन ।
उहाँले भन्नुभयो, “अहिले अर्थ मन्त्रालयले रकम निकासा नगरेको र बीमा प्राधिकरण, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले तत्काल रकम दिन नसक्ने अवस्था भएकाले कोरोना बीमा दाबी भुक्तानी रोकिएको छ ।”
गतवर्ष सरकारले निकासा गरेको एक अर्ब तथा बीमा प्राधिकरण र बीमा कम्पनीले ८१ करोड थप गरी करिब १४ हजारलाई भुक्तानी दिएको उहाँले बताउनुभयो । उक्त समयमा पुनर्बीमा कम्पनीले भुक्तानी दिएको थिएन ।
उहाँले भन्नुभयो, “गत मङ्सिरमा सरकारले निकासा गरेको एक अर्बमा बीमा प्रधिकरण र बीमा कम्पनीले ८१ करोड थप गरी करिब १४ हजार दाबीकर्तालाई वितरण गरेका हौँ । यसपछि वितरण रोकिएको छ ।”
कुल १७ लाख ५८ हजार ३४३ जना बीमितले कारोना बीमा गरेका थिए । जसमध्ये १ लाख ६५ हजार ५९ जना बीमितबाट १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपियाँ बराबरको दाबी परेको थियो ।
अर्थ मन्त्रालयले स्वीकृत गरेको कोरोना बीमा मार्गदर्शन अनुसार सुरुको तीन अर्ब ५० करोड रुपियाँसम्मको दाबी भुक्तानी बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र बीमा प्राधिकरणले गर्ने उल्लेख छ । त्यसपछि बाँकी रहने दायित्व भने नेपाल सरकारले व्यहोर्ने उल्लेख छ । सोही अनुसार बीमा कम्पनीहरुले ३ अर्ब ५० करोडसम्मको दाबी भुक्तानी गरेर पनि थप १ अर्ब ४८ करोड १४ लाख ८८ हजार २३५ रुपियाँ बराबरको दाबी भुक्तानी बीमा कम्पनीले गरेका थिए । तर नेपाल सरकारले कोरोना बीमा वापतको रकम निकासा नगर्दा बीमा कम्पनीले दाबी भुक्तानी रोकेका थिए ।
अव सरकारले रकम निकासा नगरेसम्म बीमाबापतको रकम भुक्तानी गर्न सकिने कुनै आधार नरहेको उहाँको भनाइ छ । अब एक लाखको हाराहारीमा बीमितलाई भुक्तानी दिन बाँकी रहेको अधिकारी बताउनुहुन्छ । करिब १० अर्ब भुक्तानी सरकारको दायित्वमा रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब तिर्न बाँकी १० अर्ब सबै सरकारको दायित्वमा छ । सरकारले रकम निकासा नगरेसम्म भुक्तानी गर्न सकिने कुनै आधार छैन । ”