पाकिस्तानमा बाढिबाट ८६ ले ज्यान गुमाए, २४ घण्टामा ६ काे मृत्यु

मूलखबर संवाददाता
काठमाडौं, २६ असार

पाकिस्तानमा आएको बाढीका कारण कम्तीमा ८६ जनाको मृत्यु भएको छ । २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन् ।

बाढीबाट पूर्वी पञ्जाब प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र छ । त्यहाँ ५२ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य नौ जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले जनाएको छ ।

बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाएका मध्ये तीन महिला र एक बालक रहेको एनडीएमएले बताएको छ । गत जुन २५ देखि सुरु भएको मनसुनी वर्षा र बाढीबाट पाकिस्तानमा हालसम्म ८६ जनाले ज्यान गुमाएका छन् भने एक सय ५१ जना घाइते भएका एनडीएमएले जनाएको छ ।

उत्तरपश्चिमी खैबर पख्तुनख्वामा २० जनाले ज्यान गुमाएका छन् । विभिन्न भागमा ९७ घर ध्वस्त भएका र ४६ वटा चौपाया पनि मरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा एनडीएमएलगायत अन्य सरकारी संघ संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार तथा राहतका काम जारी छन् ।