वकिल र कर्मचारी विवादले देशभरका न्यायालयका काम अवरुद्ध, के हो विवाद ?
वकिल र कर्मचारीबीचको विवाद बढ्दै जाँदा देशभरका न्यायालयमा काम नै अवरुद्ध हुन पुगेको छ ।
उच्च अदालत पाटनमा कर्मचारी र कानुन व्यवसायीबीच भएको विवादले देशभरका अदालतमा काम प्रभावित भएको हो ।
असार १३ गते पाटन जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको भन्दै न्यायालयका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेको भन्दै देशभरका अदालतका कर्मचारीले आइतबार दिउँसो साढे १ बजेसम्म काममा नजाने घोषणा गरेर आन्दोलनमा उत्रिएका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सर्वोच्चसहित देशभरका उच्च र जिल्ला अदालतमा काम प्रभावित भएको जानकारी दिए । उनले अदालतमा रहेका कर्मचारीका आधिकारीक ट्रेड युनियनहरूले काम रोक्नका लागि विज्ञप्ति जारी गरेको र अदालतहरूमा सुनुवाइ हुन नसकेको बताए ।
अदालतमा रहेका कर्मचारीहरूका सबै आधिकारीक ट्रेड युनियनले विज्ञप्ति जारी गरेर काम रोक्नुभएको छ । साढे १ बजेसम्म काम नगर्ने भन्ने जानकारी आएकाले इजलास बस्न सकेका छैनन् र मुद्दाको सुनुवाइ सुरु भएको छैन, उनले भने ।
अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको दाबी गरिएको छ ।
अधिवक्ता लामिछाने प्रहरी हिरासतमा रहेका छन् । नासु तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा निवेदन पनि दिएकी छन् ।
उच्च अदालत बार एसोसिएसन र ललितपुर बार एसोसिएसनले अधिवक्ता लामिछानेलाई प्रहरी हिरासतबाट रिहाइ माग गर्दै घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् ।