नेपालमा नर्सको भविष्यबारे अन्योल सिर्जना
नेपालका नर्सहरू कामको अभाव वा मेहनत अनुरूप कमाई नभएको गुनासो गरिरहेका छन्।
नर्सिङ सङ्घलगायतका संस्था देशमा नर्स र बिरामीको अनुपात नमिलेकोमा चिन्तित छन्।
शुक्रवार विश्वव्यापी रूपमा “हाम्रा नर्स हाम्रो भविष्य” भन्ने सन्देशसहित नर्स दिवस मनाइँदैछ ।
अनि सरकार करिब एक वर्षदेखि नेपालबाट यूकेमा नर्स पठाउने तयारी गरिरहेकाे छ ।
समग्रमा नेपालमा नर्सिङ पेसाबारे नर्सहरू स्वयं खुसी नभएको, यसको विकल्प खोज्दै बिदेसिनेहरूको सङ्ख्या बढेको र नेपालमा नर्सको भविष्यबारे अन्योल सिर्जना भएको जानकारहरू बताउँछन्।
अवसर र सेवा सुविधाको अभावकै कारण नर्सहरू बाहिर गइरहेको र यो क्रम नरोकिने हो भने अस्पताल तथा नर्सिङ होमहरूमा स्वास्थ्य संस्थादेखि सरकारले खाडल महसुस गर्न थाल्ने बताउँछिन् नर्सिङ सङ्घकी अध्यक्ष मनकुमारी राई।
“सरकार स्वयंले उनीहरूलाई बाहिर पठाउन पहल गरिरहेको छ। यसरी त अस्पतालहरूमा जनशक्ति अभावले ठूलो रूप लिन्छ। जनताले पनि गुणस्तरीय स्वास्थ्य सेवा पाउँदैनन्,” उनले बीबीसीसँग भनिन् ।