सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्दाे गतिमा, ८ जनाको मृत्यु, दर्जन भन्दाबढी बिरामी
सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्दाे गतिमा देखिएकाे छ । सल्यानको दार्मा गाउँपालिकाबाट फैलिएको स्क्रबटाइफसको संक्रमण थप ३ पालिकाका विभिन्न स्थानमा फैलिएको पाइएकाे छ ।
चार पालिकामा अहिलेसम्म १८५ स्क्रब टाइफसबाट संक्रमित भएका छन् । साउनदेखि फैलिएको स्क्रब टाइफसबाट दार्मामा ८ जनाको मृत्यु भइसकेको छ भने गम्भीर अवस्था भएका दर्जन भन्दाबढीको बाँकेको नेपालगञ्जमा उपचार भइरहेको छ।
शंकास्पद बिरामीको किटद्वारा परीक्षण गर्दा दार्मा गाउँपालिकासँगै बागचौर नगरपालिका, कुमाख गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाको विभिन्न स्थानमा स्क्रब टाइफस रोग देखिएको हो । गाउँपालिकामा १५३ जना, बागचौर नगरपालिका ५, बाङ्गेलाखुरीमा १० जना,कुमाखमा १६, छत्रेश्वरी गाउँपालिका ५ र लेखपोखरा ६ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको हो ।
सल्यानमा स्क्रब टाइफस रोग फैलिएपछि अहिले स्वास्थ्य सेवा कार्यालय सल्यानले शिविर सञ्चालन गरेर रोग पहिचान गरी बिरामीको उपचार गरिरहेको छ । वर्षातको समयमा जंगलमा पाइने किर्नो नामक जीवाणुले टोकेमा स्क्रब टाईफस् रोग लाग्ने भएकाले सम्बन्धित निकायले जंगलमा गएर घाँसपात गर्दा घुँडा छोपिने गरी बुट लगाउन,हातमा पञ्जा लगाउन र घर वरिपरिका झाडी सफा गर्न सल्लाह दिइरहेका छन्।
तर स्थानीयले बेवास्ता गर्दा संक्रमण बढदै गएको छ । स्क्रब टाइफस फैलिँदै गएपछि प्रदेश तथा संघीय सरकारले चासो बढाएका छन् । उनीहरूले उपचारका लागि किट र औषधि सहयोग गर्दै आएका छन् ।



