विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको WHO काे घोषणा

मूलखबर संवाददाता
काठमाडौं, २२ बैसाख

नेपालमा दैनिक केही संख्यामा काेराेना संक्रमित देखिइरहेका छन् । तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको छ । डब्लूएचओले तीन वर्षअघि कोभिड-१९ लाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।

‘ठूलो आशाका साथ म कोभिड-१९को विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गर्दछु,’ डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन् ।

‘हिजो, आपत्कालीन कमिटीको १५औं बैठक बस्यो र त्यसले मलाई विश्वव्यापी चासोको सार्वजनिक स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्न सिफारिस गरेको थियो । मैले त्यो सल्लाहलाई स्वीकार गरेँ । त्यसअनुसार ठूलो आशाको साथ म कोभिड १९ विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्दछु,’ उनले भने । तर उनले उच्च तहको खतरा सतर्कता हटाउनुको अर्थ जोखिम सकिएको भन्ने भने नभएको बताए । ‘परिस्थितिमा परिवर्तन भए संकटकालीन अवस्था पुन:स्थापित हुन्छ,’ उनको भनाइ छ ।

धेरै देशहरूले कोभिड १९को संकट समाप्त भएको घोषणा यसअघि नै गरिसकेका छन् । कोभिड-१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्लूएचओको तथ्यांकले बताउँछ ।तर मृत्यु भएको व्यक्तिहरूको संख्या २ करोडआसपास हुनसक्ने जनस्वास्थ्यविद्हरूले जनाएका छन् ।

कोरोना महामारीले नेपालमा मात्र १२ हजार ३१ जनाको मृत्यु भएको छ ।