सरकारका दुई उपप्रधानमन्त्री : रक्षा र गृहकाे नालिवेली
वर्तमान सरकारमा दुइजना मात्रै उपप्रधानमन्त्री रहनुभएकाे छ । दुबै जनाले सुरक्षासँग सम्वन्धित मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाउनुभएकाे छ ।
पुर्णबहादुर खड्का – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। उहाँ ११ हजार ६१९ मतान्तरले विजयी हुनुभएको थियो। उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्नुभएको छ। उपसभापति खड्का पाँचौँ पटक विजय हुनुभएको थियो।
उहाँले २०४८, २०५१, २०५६ मा प्रत्यक्षतर्फबाट निर्वाचित हुनुभएको थियो भने २०६४ सालमा समानुपातिकतर्फबाट सांसद बन्नुभएको थियो। २०७० सालमा पुनः प्रत्यक्षबाट निर्वाचित खड्का २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी ध्रुवकुमार शाहीसँगै पराजित हुनुभएको थियो। खड्का दुई पटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्री भइसक्नुभएको छ। लामो समयदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहिआउनु भएका खड्काले २०३१ सालबाट राजनीतिक यात्रा शुरु गर्नु भएको हो ।
उहाँले पटक पटक गरेर कुल पाँच महीना जेल जीवन बिताइसक्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा सक्रिय रहँदा उहाँ नजरबन्द तथा थुनामा पर्नुभएको थियो। उहाँ कुशल वार्ताकारका रुपमा परिचित हुनुहुन्छ ।
नारायणकाजी श्रेष्ठ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री
राष्ट्रिय सभा सदस्य श्रेष्ठ २०७९ पुस ११ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारमा उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुनुभयो। श्रेष्ठलाई यातायात मन्त्रीबाट विभाग परिवर्तन गरी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारी दिइएको हो।
२०३६ सालमा पञ्चायतविरुद्ध विद्यार्थी गतिविधिमा लागेको भन्दै उहाँलाई पक्राउ गरेर सेन्ट्रल जेलमा राखिएको थियो। त्यहाँबाट छुटे पनि दोस्रो पटक ०३६ सालमै उही आरोपमा गोर्खा जेलमा राखियो। तेस्रो पटक ०४५ सालमा जनआन्दोलनको तयारीको बेला उहाँलाई राजकाज मुद्दा लगाई केही दिन ललितपुर डिएसपी कार्यालयमा हिरासतमा राखिएको थियो।
भूमिगत हुँदा ‘प्रज्ज्वल’, ‘नरेन्द्रमान’, ‘दिपक’, र ‘प्रकाश’ नामबाट उहाँले राजनीतिक गतिविधि गर्नुभएको थियो। २०४८ सालमा प्रचण्ड नेतृत्वको मोटो मशाल, निर्मल लामा नेतृत्वको चौम, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन र हरिबोल गजुरेल नेतृत्वको विद्रोही मसालबीच एकता गर्ने क्रममा उहाँ पार्टी एकता संयोजन समितिको सदस्य हुनुभयो।
एकता भएपछि ०४७ सालमा एकता महाधिवेशनबाट उहाँ नेकपा (एकता केन्द्र) को पोलिटब्यूरो सदस्य हुनुभयो। ०५१ सालमा पार्टी विभाजित हुँदा उहाँले एकता केन्द्रको सचिवको जिम्मेवारी लिनुभयो। लगत्तै महासचिव हुनुभयो। नेकपा (मसाल) सँग पार्टी एकता हुँदा मोहनविक्रम सिंह नेकपा (एकताकेन्द्र मसाल)को महामन्त्री र उहाँ सहमहामन्त्री हुनुभयो। ०६३ सालमा सो पार्टीमा विभाजन भएपछि उहाँ एकता केन्द्र–मसालको महामन्त्री हैसियतमै रहनुभयो।