
एसईई शुरू हुँदै, ५ लाख १६ हजार परिक्षार्थी, २ हजार ३७ केन्द्र
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। भाेली चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुने परीक्षामा ५ लाखदबढि विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिनुभयो। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।
पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ।
२०७८ सालको एसईईमा विज्ञान विषयमा सबैभन्दा बढी विद्यार्थीले ‘सी ग्रेड’ प्राप्त गरेका थिए। गत वर्ष विज्ञानमा एक लाख छ हजार ५१३ जनाले ‘सी ग्रेड’ प्राप्त गरेका थिए।
त्यो वर्ष अङ्ग्रेजीमा सबैभन्दा बढी ८५ हजार ६४२ जनाले ‘सी ग्रेड’, गणितमा सबैभन्दा बढी एक लाख ८८ हजार ९४ जनाले ‘ई ग्रेड’ र नेपालीमा सबैभन्दा बढी एक लाख ४१ हजार ६५९ जनाले ‘सी प्लस ग्रेड’ हासिल गरेका थिए। २०७८ सालको एसईईमा अनिवार्य अङ्ग्रेजी विषयमा १५ हजार ३९९ जनाले ए प्लस, नेपालीमा एक हजार ८०४ जनाले ए प्लस, गणितमा चार हजार ९५१ जनाले ए प्लस र विज्ञानमा आठ हजार ६५८ जनाले ए प्लस ग्रेड ल्याएका थिए।
२०७७ सालमा अनिवार्य विज्ञान विषयमा सबैभन्दा बढी एक लाख ३७ हजार ९२७ जनाले बी प्लस, गणितमा सबैभन्दा बढी एक लाख तीन हजार ९९३ जनाले सी प्लस र अङ्ग्रेजीमा सबैभन्दा बढी एक लाख ३१ हजार ९३३ जनाले बी प्लस ग्रेड ल्याएका थिए। २०७६ सालको एसईईमा विज्ञानमा सबैभन्दा बढी एक लाख १० हजार २६३ जनाले सी प्लस, गणितमा सबैभन्दा बढी एक लाख १३ हजार १९० जनाले सी र अङ्ग्रेजीमा सबैभन्दा बढी एक लाख चार हजार ९२१ जनाले सी प्लस ग्रेड प्राप्त गरेका थिए।
