जनगणनाको अन्तिम नतिजा सार्वजनिक : नेपालको जनसंख्या २ करोड ९१ लाख

मूलखबर संवाददाता
काठमाडौं

आज राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।

जनगणना अनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ रहेको छ  । बि.स. २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो ।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना गरिने गरेको छ ।