सगरमाथा जलविद्युतको आइपीओ निष्काशन

मूलखबर संवाददाता
काठमाडौं

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आज चैत ८ गतेदेखि आइपीओ निष्काशन गरेको हो । यस आइपीओमा चैत ८ गतेदेखि चैत १२ गतेसम्म आबेदन दिन सकिनेछ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोडको १० प्रतिशत दरको ११ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ३९ प्रतिशतले हुन आउने ४३ लाख ६८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली ,कर्मचारी तथा सामूहिक लगानीकोष समेतका लागि विक्री गर्ने गरी नियामक निकायबाट स्वीकृति पाएको थियो ।कम्पनीले ५ प्रतिशत अर्थात् २ लाख १८ हजार ४ सय कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सार्वजनिक निष्काशन गर्न लागेको छ ।

विक्री अवधि छिटोमा चैत १२ गतेसम्मका लागि तोकिएको छ भने अवधिभित्र माग बमोजिम आवेदन नपरेमा चैत २२ गतेसम्म विक्री लम्बिनेछ । आइपीओ निष्काशनको लागि इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपि त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।