शान्ति सम्झौतामा पश्चिमा मुलुकको प्रतिबद्धता झुटा सावित : राष्ट्रपति पुटिन

मूलखबर संवाददाता
काठमाडौं, ९ फागुन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  शान्ति सम्झौतामा पश्चिमा मुलुकको प्रतिबद्धता झुटा सावित भएको बताएका छन् ।

पश्चिमाहरूले राजनीतिक हत्या र विश्वासघातको प्रयास गरेको पनि पुटिनले दाबी गरेका छन् ।

रुसले युक्रेन द्वन्द्वलाई शान्तिपूर्ण रुपमा समाधान गर्न चाहेको बताएका छन् ।

युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा रुसी संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको डोनबास क्षेत्रको द्वन्द्वलाई शान्तिपूर्ण माध्यममार्फत् समाधान गर्न चाहेको बताएका हुन् ।

शान्ति सम्झौतामा पश्चिमा मुलुकको प्रतिबद्धता झुटा सावित भएको पनि पुटिनले सम्बोधनका क्रममा भनेका छन् । साथै पुटिनले युक्रेनले जैविक र आणविक हतियार जम्मा गरेको पनि आरोप लगाए । ‘हामीले शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न सबै प्रयास गर्‍यौँ । तर हाम्रो पछाडि अर्कै दृश्य मञ्चन भइरहेको थियो,’ पुटिनले सम्बोधनका क्रममा भने ।

पश्चिमाहरूले राजनीतिक हत्या र विश्वासघातको प्रयास गरेको पनि पुटिनले दाबी गरेका छन् । त्यस्तै उनले पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले छिमेकी युद्धग्रस्त देश युक्रेन भ्रमण गरेको केही घण्टामै रुसी राष्ट्रपति पुटिनले मंगलबार यस्तो प्रतिक्रिया दिएका हुन् ।

युक्रेन-रुस युद्धको एक वर्ष पुगेको अवसरमा बाइडेन युक्रेन पुगेका थिए । युक्रेन भ्रमणपछि उनी पोल्याण्ड भ्रमण गर्ने कार्यक्रम छ । पोल्याण्डको राजधानी वार्सा पुगेर उनले युक्रेन युद्धबारे सम्बोधन गर्ने बताइएको छ । यसैबीच बाइडेनको युक्रेन भ्रमणलाई ‘अचानक’ भनिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।