भौतिक पूर्वाधार र यातायातमा सुशासनका लागि सुझाव कार्यदल गठन

मूलखबर संवाददाता
काठमाडौं, १९ माघ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  सुशासन सुधार सुझाव कार्यदल गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेर प्राध्यापक, डाक्टर राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गर्नुभएको हाे ।

कार्यदलमा पूर्व सचिवहरू पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषय बिज्ञका रूपमा डा. लिना गुरुङ सदस्य हुनुहुन्छ। कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सु. ई. अर्जुनप्रसाद अर्याल सदस्य सचिव हुनुहुन्छ।

कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारी भित्रका सडक पूर्वाधार, सडक पुल, रेलवे सेवा, यातायात क्षेत्र ब्यबस्थापन तथा इन्जिनियरिङ सेवा ब्यबस्थापन (इन्जिनियरिङ काउन्सिल) समेतको कार्यविधिमा रहि सुझाव प्रतिवेदन पेस गर्न भनिएको छ। कार्यदलको अवधि एक महिनाको छ।

सेवा प्रवाहलाई चुस्त दुरुस्त, सेवाग्राही मैत्री, प्रभावकारी, सुशासन मैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शुन्य सहनशील हुन अवलम्बन गर्नुपर्ने नीतिगत, कार्यप्रक्रियागत र संस्थागत सुधारका बिषयहरू प्रस्तुत गर्ने म्याण्डेट कार्यदललाई दिईएको छ।