बद्री उप्रेतीका मन छुने मुक्तकहरू

मूलखबर संवाददाता
काठमाडौं

१,
दशनङ्ग्रा खियाइ काम गर्दा पनि, भाग्य कैले जुटेको छैन
दु:ख सङ्गको गहिरो यो सम्बन्ध, अझैसम्म टुटेको छैन
गरिबको पीडा कम गर्न भनि सङ्घीय सरकार बनाए पनि,
थाप्लोमा नाम्लो र पिठिउँमा बच्चा, अझैसम्म छुटेको छैन । 

२,
अत्यन्त पीडा सहन सक्ने पहिचान उनको नागर हो
श्रमले सबैलाई ज्ञानी बनाउँछ, श्रम नै ठुलो जाँगर हो
घाँसको भारी सङ्गै बच्चा त्यसैले त बोक्छिन् आमा,
धर्ती उनको मन हो भने, ममता उनको सागर हो ।

३,
जीवनमा कैले निराश हुन्न, मनमा सधैं उल्लास भर्छु
उमङ्गको ध्वजा बोक्दै, मन लगाएर कर्म गर्छु
सानो छँदा बोक मलाई घाँस दाउराको भारी माथि,
जब म ठुलो हुन्छु, तिम्रा दु:ख सबै हर्छु ।

४,
ताली पिट्छन् मञ्चमा बसेर, एउटै स्वरमा सबैको आहा
गरिबको दु:ख कसले देख्छ र ? हुनु पर्यो ‘नि मनमा चाहा
सुनेको छु मैले तारे होटलमा सुन्दरीहरूको छनोट हुन्छ रे, तर
एउटी अवोला गाउँकी नारीले बोकेको पीडा कस्लाई थाहा ।

५,
अरूको जस्तो झुट हैन, साँचो र सधैं सच्चा बोकेर
जीवनमा कैले हिँडिन म, फोस्रा सपना कच्चा बोकेर
पसिनाको दशधारा चुहाएर, त्यसैले त मेहनत गर्दैछु,
थाप्लोमा नाम्लो, हातमा हँसिया, पिठ्युँमा बच्चा बोकेर ।

६,
सर्वगुणले सम्पन्न छ जो, व्यावहारमा कैले ठुलो हुँदैन
नातामा सधैं बलियो हुन्छ, ऊ जीवनमा खुकुलो हुँदैन
झुक्केर पनि जीवनमा तिमीले नसोध्नु माया कति छ भनि,
एउटी आमाको ममता जोख्ने, कुनै त्यस्तो तुलो हुँदैन ।

७,
बुढेसकालको सहारा बन्नु तिमी, मुटु जलाइ नपुर्‍याउनु
घाटमा कहिले पुग्छे यो भनेर, बोकेर सलाई नपुर्‍याउनु
दशधारा दुध र मेरो आँसुको, ख्याल गरे है मेरो बच्चा,
अरूले जस्तै तिमीले पनि, आश्रममा मलाई नपुर्‍याउनु ।