विश्वकप विजेता बन्याे अर्जेन्टिना, मेस्सी बने सर्वाेत्कृष्ट खेलाडी, एम्बाप्पेले पाए गाेल्डेन बुट

मूलखबर संवाददाता
काठमाडौं, ४ पुस

कतारबाे राजधानी दाेहामा सम्पन्न विश्वकप २०२२ मा अर्जेन्टिना विश्वकप विजेता बन्न सफल भएको छ भने कप्तान मेस्सी विश्व च्याम्पियन र सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । आइतबार राति भएको फाइनल खेलमा अर्जेन्टिना ३–३ को बराबरीपछि फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराएर ३६ वर्षपछि विश्वकप च्याम्पियन भएकाे हाे । त्यसैगरी अघिल्लो पटकको विश्वकप विजेता फ्रान्सले दाेस्राे स्थानमा चित्त बुझाउन बाध्य हुँदा उदियमान खेलाडी अम्वाप्पे गाेल्डेन बुट पाउन सफल भएका छन् ।

यससँगै मेसीले पनि पाँचौं प्रयासमा विश्वकप जित्ने सपना पूरा गरेका छन् । मेसीको टिम ८ वर्षअघि पनि फाइनलमा पुगेको थियो । तर, त्यसबेला अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले हराएर जर्मनी च्याम्पियन भएको थियो । अर्जेन्टिना तेस्रोपल्ट विश्वविजेता बनेको हो । यसअघि मारियो केम्पस (सन् १९७८) र म्याराडोना (१९८६) को उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विश्वविजेता भएको थियो । विश्वकप विजेता भएसँगै मेसीले सर्वकालीन महान् खेलाडीका रूपमा आफूलाई बिनाप्रश्न उभ्याएका छन् । विश्वकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड बालोन डी’अर कीर्तिमानी सातपल्ट जितेका उनले फुटबलमा सम्भव सबै प्रतियोगिता जित्ने क्रमलाई विश्वकपमा आएर पूर्णता दिएका हुन् । गतवर्ष मात्रै उनकै उत्कृष्ट खेलमा अर्जेन्टिना कापा अमेरिका च्याम्पियन भएको थियो ।

फ्रान्सेली क्लब पीएसजीमा सँगै खेल्ने मेसी र केलियन एमबाप्पेबीचको प्रतिस्पर्धाजस्तै रह्यो फाइनल । २३ वर्षे एमबाप्पे विश्वकपको ९२ वर्ष लामो इतिहासमा फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यसअघि इंग्ल्यान्डका जोफ हर्स्टले सन् १९६६ मा जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए । रुसमा चार वर्षअघि क्रोएसियालाई ४–२ ले हराएर फ्रान्सले उपाधि जित्दा एमबाप्पेले एक गोल गरेका थिए । त्यसैले उनी फाइनलमा सबैभन्दा बढी चार गोल गर्ने खेलाडी भएका छन् । यसपालि कुल ८ गोलसहित उनले गोल्डेन बुट अवार्ड जितेका छन् ।