बेलायतमा नर्सहरूकाे हडताल, १ सय १६ वर्ष यताको सबैभन्दा ठूलो, के छ माग ?
वेलायतकाे नेसनल हेल्थ सर्भिस (एनएचस) मा कार्यरत नर्सहरुले ठूलो हडताल गरेका छन् । इंग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा कार्यरत हजारौं नर्सले बिहीबार १ सय ६ वर्ष यताकै सबैभन्दा ठूलो हडताल गरेका हुन् ।
१९ प्रतिशत तलब वृद्धिको माग गर्दै उनीहरूले हडताल गर्दा बिहीबार हजारौं बिरामी प्रभावित भएका बेलायती अखबारहरुले उल्लेख गरेका छन् । यसअघि आरसीएसनले सरकारले प्रस्ताव गरेको वार्षिक १४ सय पाउन्ड (करिब ४.३ प्रतिशत) तलब वृद्धि अस्वीकार गरेको थियो । नर्सहरुको युनियन ‘रोयल कलेज अफ नर्सिङ’ (आरसीएसन) को आह्वानमा त्यसमा आवद्ध झण्डै एक लाख नर्स हडतालमा उत्रिंदा अस्पताल सेवा प्रभावित बनेको छ ।
केमोथेरापी र डायलसिस गर्नुपर्ने बिरामी, गर्भवती महिला, बालबालिका, इन्टेन्सिभ केयरजस्ता अत्यावश्यक सेवाबाहेक विभागमा कार्यरत नर्स हडतालमा उत्रिएका हुन् । आउँदो मंगलबार पनि १२ घण्टे हडताल आह्वान गरिएको छ । आफ्ना माग बेवास्ता गरिए आउँदो महिना अझ लामो हडताल गर्ने उनीहरूले चेतावनी दिएका छन् । ब्रिटिस स्वास्थ्यमन्त्री स्टिभ बार्कलेले सरकारमाथि अरु कैयौं आर्थिक दबाब परि रहेकाले सरकारले नर्सिङ युनियनहरूले मागे जति तलब वृद्धि गर्न नसक्ने बताएका छन् ।
रोयल कलेज अफ नर्सिङकी अध्यक्ष प्याट कलेनले खाली रहेका हजारौं नर्सिङ पदहरु पूरा गर्न माग गरिन् । ‘नर्स र बिरामीहरूका लागि यो दुखद् दिन हो,’ उनले भनिन् । तर, स्कटल्यान्डको राज्य सरकारले नर्सहरुको तलबमा ७५ प्रतिशत वृद्धि गर्न सहमत भए पछि त्यहाँ नर्सहरुले घोषणा गरेको हडताल फिर्ता लिएका थिए । तस्बिर :