जीवन विमा : कुन कम्पनीले दिए कति राेजगार ? कुन बने टप थ्री ?
पछिल्लो समय जीवन बीमा कम्पनीहरुले आफ्नो शाखा संजाल विस्तार गर्दै आएका छन् । बीमा कम्पनीहरु सहरमा मात्र सिमित नभई देशको दुरदराजसम्म शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्दै आएको अवस्था छ । शाखा संजाल विस्तार गर्ने क्रमसँगै कम्पनीहरु जनशक्ति बृद्धिमा पनि उत्तिकै अग्रसर रहेका छन् । यसैक्रममा जीवन बीमा कम्पनीहरुले हाल २२ सय ९८ वटा शाखा कार्यालयहरु संचालनमा गरी ६ हजार १ सय ७४ जनालाई प्रत्यक्ष रोजगार दिइरहेका छन् ।
बीमा समितिको तथ्याङक अनुसार सर्वाधिक धेरै रोजगारदाता बीमकको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । हाल कम्पनीको १९० वटा शाखा कार्यालय विस्तार भएका छन् । जहाँ ६८४ जना जनशक्तिले प्रत्यक्ष रोजगार पाएका छन् ।
बीमा समितिले प्रकाशन गरेको २०७९ असोज मसान्तसम्मको तथ्यांक अनुसार देशभर १५२ शाखा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी कूल ४३६ जना जनशक्ति सहित दोश्रो ठूलो रोजगारदाता जीवन बीमकको रुपमा रहेको छ । त्यस्तै, २०४ वटा शाखा कार्यालय विस्तार गरेको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२९ जनालाई रोजगारी प्रदान गरी तेस्रो ठुलो रोजगारदाता जीवन बीमकको रुपमा स्थापित भएको छ ।
त्यस्तै, नेशनल लाइफले ११६ वटा शाखा तथा उप शाखा कार्यालय विस्तार गरी ३९८ जनलाई रोजगारी प्रदान गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १४९ वटा शाखा कार्यालय विस्तार गरी ३९३ जना कर्मचारीलाई रोजगारी दिएको छ । ज्योति लाइफले १३० वटा शाखा कार्यालय विस्तार गरेर ३८५ जनालाई प्रत्यक्ष रुपमा रोजगार दिएको छ । सन नेपाल लाइफले १९१ वटा शाखा कार्यालय खोलेर ३७१ जनालाई जागिर दिएको छ । सिटिजन लाइफले १४१ वटा शाखा विस्तार गरेको छ । जहाँ ३५२ जनाले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् ।