चिनका पुर्वराष्ट्रपति चियाङ जमिनकाे ९६ वर्षमा निधन, चिनमा उच्च सम्मान, काे थिए जमिन ?
चीनका ९६ वर्षिय पूर्वराष्ट्रपति चियाङ जमिनको निधन भएको छ। लिउकेमिया र मल्टिपल अर्गान फेलियरका कारण बुधबार मध्यान्ह उनको सांघाईमा निधन भएको हाे । उनकाे निधनबारे चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीले घोषणा गरेको छ।
सीपीसी, चीनको स्टेट काउन्सिल, नेसनल पिपल्स कंग्रेसको स्थायी कमिटी, सीपीसी र चीनको केन्द्रीय सैन्य आयोगले सबै पार्टीका सदस्य, चिनियाँ जनता, सेनाका सबै अंगहरुलाई सम्बोधन गर्दै जमिनको निधन भएको घोषणा गरेका छन्।
पत्रमा पूर्वराष्ट्रपति जमिनको निधनले सम्पूर्ण पार्टी, सैन्य, चिनियाँ जनता दु:खमा रहेको जनाएको छ। उनको सबै उपचारको प्रयासका वावजुध ल्युकेमिया र मल्टिपल अर्गान फेलियरका कारण मृत्यु भएको उल्लेख छ।
चीन सरकार र सीपीसीले जारी गरेको शोक वक्तव्यमा जमिनलाई सम्पूर्ण जनता, पार्टी र सेनाका लागि उच्च सम्मानित नेता भएको उल्लेख छ। उनलाई एक महान मार्क्सवादी, महान सर्वाहारवर्ग क्रान्तिकारी नेता, राजनेता, सैन्य रणनीतिकार, कुटनीतिक नेतृत्वका साथै महान कम्युनिस्ट लडाकु रहेको उल्लेख गरेको छ। उनले चिनियाँ विशेषतासहितको समाजवाद निर्माणका कुशल नेतृत्वकर्ताको रुपमासमेत उनको चर्चा गरिएको छ।
पार्टीले उनलाई “उच्च सम्मान भएका एक उत्कृष्ट नेता” एवं “लामो समय परीक्षित कम्युनिस्ट लडाकु”का रूपमा चित्रण गरेको छ।
उनको सम्मानमा द ग्लोबल टाइम्स र सिन्हुआ समाचारसंस्था सहितका सरकारी सञ्चारमाध्यमहरूले वेबसाइटलाई श्यामश्वेत रङ्गका बनाएका छन्।
सरकारी टेलिभिजन सीसीटीभीले सन् १९८९ मा बेइजिङस्थित तिआनआनमेन स्क्वायरमा भएका रक्तपातपूर्ण प्रदर्शनपछि निर्वाह गरेको भूमिकाका लागि जियाङको प्रशंसा गरेको छ।
उनको नेतृत्वकालमा अर्थतन्त्रले फड्को मार्यो भने कम्युनिस्ट पार्टीले सत्तामा पकड दह्रो पार्यो अनि अन्तर्राष्ट्रिय मञ्चमा शक्तिशाली स्थान बनाउन चीन सफल देखियो।
उनको कार्यकालमै सन् १९९७ मा शान्तिपूर्ण रूपमा हङ्कङको हस्तान्तरण भयो र सन् २००१ मा चीन विश्व व्यापार सङ्गठनमा प्रवेश गर्यो।
को हुन जमिन ?
जियाङको जन्म १७ अगस्ट १९२६ मा चीनको पूर्वी तटीय प्रान्त जियाङ्सुको याङ्झाउ सहरमा भएको थियो।
उनी हुर्किँदै गर्दा त्यो क्षेत्र जापानी कब्जामा रहेको थियो। अन्ततः उनले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरे। कलेज पढ्दा २१ वर्षको उमेरमा उनी कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए।
उनले आफ्नो प्रारम्भिक करियरको धेरै वर्ष विदेशमा बिताए।उनले मस्कोमा सोभियत कार कारखानामा प्रशिक्षण लिए र पछि रोमानियामा कूटनीतिज्ञका रूपमा काम गरे। सन् १९८० सम्म उनी इलेक्ट्रोनिक्स उद्योग मामिला हेर्ने मन्त्री बने।
थ्योरी अफ थ्रि रिप्रिजेन्ट्सका प्रवर्तक रहेका चियान चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो पुस्ताका नेता हुन्। उनी चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवको रुपमा सन् १९८९ देखि २००२ सम्म रहे। त्यस्तै केन्द्रीय सैन्य आयोगको अध्यक्षको रुपमा १९८९ देखि २००४ र चीनको राष्ट्रपतिको रुपमा १९९३ देखि २००३ सम्म रहे।
उनी सन् १९८९ को थियान मन स्क्वायरमा भएको आन्दोलनपछि अप्रत्यासित रुपमा शक्तिमा आएका थिए। जुन आन्दोलन चाओ चियाङको सीपीसी महासचिवबाट बहिरगमनको कारण बनेको थियो। त्यसपछि उनी सीपीसीको महासचिव भए।
सन् २००२ मा नयाँ पुस्तालाई सत्ता हस्तान्तरण पूर्व चियाङले थ्रि रिप्रिजेन्टस् सम्बन्धी सिद्धान्तलाई अगाडि सारेका थिए। जुन २००२ मा सीपीसीको विधानमा मर्क्सवाद, लेलिनवाद, माओ विचारधारा, तङ स्याओपिङ विचारधारासँगै समावेश गरिएको थियो।