जारी मतगणनामा आधारित हुँदा मधेस प्रदेशमा एमाले र कांग्रेसले पाँच वर्षपछि ‘कमब्याक’ गरेका छन्। मधेसका दुई मुख्य दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई विस्थापित गर्दै मधेस प्रदेशमा एमाले र कांग्रेसले ‘कमब्याक’ गरेका हुन्। पाँच वर्षअघि मधेसबाट प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नो बर्चश्व देखाएका दुई प्रमुख मधेशवादी दल यसपालि नराम्रोसँग खुम्चिएसँगै एमाले र कांग्रेसकाे बर्चस्व फिर्ता भएको हाे ।
मधेसमा यसपालि सबैभन्दा ठूलो कमब्याक नेकपा (एमाले) ले गरेको छ। अहिलेसम्म मधेसमा प्रतिनिधि सभाका ३२ सिटमध्ये ३१ क्षेत्रको मतगणना भइसकेको छ। तीमध्ये ८ स्थानमा एमालेले जितेको छ। मतगणना भइरहेको एउटा स्थानमा एमाले कांग्रेस पछि दोस्रो स्थानमा छ।
त्यस्तै मधेस प्रदेश सभामा पनि अहिलेसम्म आएका परिणाममा एमाले सबैभन्दा अघि छ। मधेस प्रदेशका ६४ क्षेत्रमध्ये एमालेले १३ स्थानमा जितेको छ भने २ स्थानमा अग्रता लिएको छ।
नेपाली कांग्रेसले अहिलेसम्म मधेसबाट ७ प्रतिनिधि सभा क्षेत्र जितेको छ। अहिले मतगणना भइरहेको एउटा क्षेत्र धनुषा-४ मा सो दलका उममेदवारले अग्रता लिएका छन्।
मधेस प्रदेश सभामा नेपाली कांग्रेसले पनि १३ सिट नै जितेको छ। एमालेले अहिले अग्रता लिएका थप दुई सिटमा जितेको खण्डमा मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ जित्नेमा एमाले सबैभन्दा ठूलो दल हुनेछ।
यसरी अन्तिम मत परिणाममा मधेसको सबैभन्दा ठूलो दल बन्नेमा एमाले र कांग्रेसबीच ‘काँटेका टक्कर’ देखिएको छ।