बेपत्ता पत्रकार मिलनलाई सम्झिँदै प्रचण्डले भने- यो सामान्य निर्वाचन होइन, उपलब्धी रक्षाको लडाइँ हो

मूलखबर संवाददाता
काठमाडौं

बेपत्ता पत्रकार मिलनलाई सम्झिँदै प्रचण्डले भने- यो सामान्य निर्वाचन होइन, उपलब्धी रक्षाको लडाइँ हो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनाव सामान्य परिघटना मात्र नभएर प्राप्त उपलब्धीको रक्षा गर्ने र त्यसलाई उल्ट्याउने बीचको लडाइँ भएको बताएका छन् ।

बुधबार प्रेस सेन्टर ललितपुरले राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको स्मृतिमा प्रकाशन गरेको ‘मिलन स्मारिका’को ललितपुरमा विमोचन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । आफूहरू समाजवादको लक्ष्य प्राप्तीका लागि नयाँ बाटो कोरिरहेको पनि बताए ।

‘अहिले प्रतिक्रियावादीहरूले माओवादीको नेतृत्वलाई घेराबन्दी गरेर माओवादीको एजेन्डामाथि प्रहार गरिरहेका छन् । जनतालाई माओवादीको आन्दोलन, एजेन्डा र माओवादीको नेतृत्वको बारेमा भ्रम छर्ने र सबभन्दा बढी प्रहार गरिरहेका छन्,’ प्रचण्डले भने, ‘त्यसैले यो निर्वाचन सामान्य मात्रै छैन । उपलब्धीको रक्षा गर्ने र उल्ट्याउनेबीचको लडाइँ हो ।’

माओवादी बलियो भए प्राप्त उपलब्धीको रक्षा र विकास हुने प्रचण्डले बताए । माओवादी कमजोर भएमा भने ती उपलब्धीहरू खतरामा पर्ने उनको भनाइ छ ।

गत वर्ष ओली प्रधानमन्त्री हुँदा संविधान खारेज गर्नकै लागि पटक पटक असंवैधानिक तवरले संसद विघटन गरिएको बताए । संसद विघटन गरेर चुनाव नगर्ने मनसायका साथ उक्त कदम चालिएको प्रचण्डको भनाइ छ ।

‘गत साल झण्डै झण्डै प्रतिक्रान्ति हुने हो कि भन्ने स्थिति हामीले भोग्यौँ । नेपाली जनताले पनि भोग्यो । पटक-पटक असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गर्नुको मक्सद संविधान खारेज गर्नु थियो । प्रतिनिधिसभा विघटन गरेर तुरुन्तै चुनाव हुन्छ जस्तो प्रचार गरियो । तर, हुनेवाला थिएन,’ प्रचण्डले भने, ‘एकचोटी संविधानले लिक छाडेपछि त्यो फेरि फर्कन गाह्रो थियो । त्यसलाई हामीले प्रतिवाद गर्‍यौँ ।’

ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेपछि माओवादी केन्द्रले नै सुरुमा त्यसको प्रतिवाद गरेको उनले बताए ।  त्यसबेला असंवैधानिक कदमविरुद्ध माओवादीले गरेको सडक आन्दोलनलाई पनि उनले स्मरण गरे । माओवादीको आह्वानमा त्यसबेला लाखौँ जनता सडकमा नआएको भए प्रतिगमन भइसक्ने अवस्था रहेको उनले बताए । तर, आफूहरू त्यसलाई रोक्न सफल भएको उनको भनाइ छ ।

राज्यले बेपत्ता पारेका पत्रकार मिलन नेपालीको स्मरण गर्दै प्रचण्डले उनी निकै क्रान्तिकारी पत्रकार भएको बताए । मिलन नेपालीका बुबा आफ्नो अभिभावक रहेको स्मरण गर्दै प्रचण्डले भने, ‘चितवनमा मेरो अभिभावक मिलनको बुबा हो । मिलनले पार्टी हेर्डक्वाटरमा रहेर पनि काम गर्नुभयो ।’

मिलनलाई सम्झिँदै प्रचण्डले भने, ‘उहाँले अलिकति कुरा खोल्दिनुभएको भए पनि उहाँ बेपत्ता हुने स्थिति नहुन पनि सक्थ्यो । हामी पक्राउ पर्न पनि सक्थ्यौँ । तर, उहाँ तत्कालीन राज्यसत्तासँग झुक्नुभएन । पार्टी र आन्दोलनको रक्षा गर्नुभयो ।’

प्रेस सेन्टर ललितपुरले बेपत्ता पत्रकार मिलन नेपालीको सम्मानमा मिलन स्मृति निकालेर उनको मात्र नभएर सम्पूर्ण बेपत्ता योद्धाको पनि सम्मान गरेको बताए ।

कार्यक्रम सञ्चालन गर्दै प्रेस सेन्टरका उपाध्यक्ष तथा उपत्यका प्रदेश कमिटीका इन्चार्ज निर्मल ज्ञवालीले मिलन नेपाली र कृष्ण सेन ‘इच्छुक’ले देखाएको बाटोमा आफूहरू अविचलित भएर लाग्ने बताए ।

प्रेस सेन्टर ललितपुरका अध्यक्ष तथा पत्रकार महासंघ ललितपुरका सचिव रामहरी कार्कीले बेपत्ता पत्रकार मिलन नेपालीको सम्मानमा स्मारिका निकाल्न पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा मिलन नेपालीकी जीवन संगीनी सविता बस्नेतलाई सम्मान गरिएको थियो । पत्रकार नेपालीलाई तत्कालीन राज्यसत्ताले २०५६ मा काठमाडौंको सुन्धाराबाट दण्डपाणि न्यौपानेसहितपक्राउ गरी बेपत्ता बनाएको थियो ।