कर्णालीमा बाढी पहिराे : ३५ काे मृत्यु, २० वेपत्ता, एक दर्जन पुल बगायाे

मूलखबर संवाददाता
काठमाडौं, २५ असाेज

सातादेखि निरन्तर वर्षाका कारण बाढीपहिरो चल्दा कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ। २० जना हराइरहेका छन्। कर्णालीका सुर्खेत र रुकुमपश्चिमबाहेक ८ जिल्लामा जनधनको क्षति भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) माधवप्रसाद श्रेष्ठले बताए।

जुम्लामा १० जनाको मृत्यु भएको छ’, प्रदेश प्रहरी प्रवक्ता श्रेष्ठले अन्नपूर्ण पोस्ट्सँग भने, ‘मुगुमा ८, कालीकोटमा ५, हुम्लामा ४, जाजरकोटमा ३, डोल्पामा २, सल्यानमा २ र दैलेखमा १ गरी प्रदेशभर ३५ जनाको दुःखद् मृत्यु भएको छ।’

मंगलबार साँझसम्मको विवरणअनुसार कर्णालीका १० वटै जिल्लामा गरी २० जना बेपत्ता छन्। कतै पहिरो जाने त कतै घर भत्किएका कारण बेपत्ता हुनेको संख्या २० पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बेपत्ता हुनेमा सबैभन्दा बढी कालीकोटमा एक प्रहरीसहित १८, जुुम्ला र मुगुमा एक/एक जना छन्।    काममा गएका बेला खोलामा बाढी आउने, घर भत्किनेजस्ता घटनामा परेर कालीकोटमा ७, मुगु र हुम्लामा ५/५, जुम्ला, जाजरकोट र रुकुमपश्चिममा १/१ जना घाइते भएका छन्। ४८० घरमा क्षति, २,८८९ घरपरिवार बिस्थापित बाढीपहिरोले प्रदेशभर ४ सय ८० घरमा क्षति पुगेको छ। २ हजार ८ सय ८९ घर परिवार विस्थापित भएका छन्। प्रदेश प्रहरीका अनुसार मुगुमा १ सय ७८, दैलेखमा १ सय ३, दैलेखमा ६, कालीकोटमा ४, हुम्लामा ४०, सुर्खेतमा ८, डोल्पामा ४, जाजरकोट र रुकुमपश्चिममा २/२ घरमा क्षति भएको छ। जुम्लाका १ हजार १ सय १३, मुगुमा ७ सय, दैलेखमा ५ सय ११, कालीकोटमा ३ सय ४४, मुगुमा १ सय ७८, हुम्लामा १ सय ५५ घरपरिवार बिस्थापित भएको श्रेष्ठले बताए। उनका अनुसार सुर्खेतमा ४५, रुकुमपश्चिममा ११ र जाजरकोटमा १० घर परिवार बिस्थापित भएका छन्। पर्यटकको उद्धार हिमापातले सिमकोट गाउँपालिका–१ स्थित चाङला हिमालमा फसेका ७ जना पर्यटकको सकुसल उद्धार भएको छ।  बाढीले कर्णाली नदीमा रहेका एक दर्जनभन्दा बढी झोलुंगे पुल बगाएको छ। जसले हुम्ला, मुगु, बाजुरा, कालीकोट, अछाम र दैलेख जोड्थे। बाँकी पुल पनि उच्च जोखिममा रहेको शिक्षक धनबहादुर धामीले बताए।