शिक्षक कर्मचारीले दल र उमेदवारकाे प्रचार गरेमा कार्वाही हुन्छ : आयाेग

मूलखबर संवाददाता
काठमाडौं, २५ असाेज

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रक्रिया प्रारम्भ भएको जनाएको छ । आयोगले सामाजिक सञ्जालमार्फत् पनि उम्मेदवारको पक्ष र विपक्षमा प्रचारप्रसार नगर्न भन्दै सचेत गराएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षक, कर्मचारीलाई त्यसरी निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा नलाग्न सचेत गराएको हो ।

‘कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरू राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको छ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ, ‘त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाइ बधाइ र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारहरूका प्रचार सामग्रीहरूको सेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही प्रारम्भ गरेको छ ।’