हेटौँडामा बस दुर्घटना : दुई जनाको मृत्यु, ३६ घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
यस्तै दुर्घटनामा परी अन्य ३६ यात्रु घाइते भएका छन् । काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भई नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ । घाइते एक जनाको भने हेटौँडामा उपचार भइरहेको छ ।