खाद्यान्न ढुवानी नहुँदा दशैँमा चामल अभाव
हुम्लाका आठवटा डिपो र बिक्री केन्द्रमा दशैँका लागि खाद्यान्न बिक्री नगरिने भएको छ । चालू आर्थिक वर्षका लागि डिपो र बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न स्थल मार्गबाट ढुवानी हुन नसकेपछि बिक्री बन्द भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हुम्लाका नासु नवीन आचार्यले हुम्लाको शाखाबाहेक अन्य गाउँपालिकामा स्थापना भएका आठवटा डिपो तथा बिक्री केन्द्रबाट यसपालिको दशैँमा खाद्यान्न बिक्री वितरण नगरिएको बताउनुभयो ।
उहाँले खाद्य व्यवस्था कम्पनीले सबै डिपो तथा बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानीका लागि भएको आशयपत्र निकाल्न ढिलो भएका कारण ढुवानीकर्ता छनोटकै क्रममा रहेको जानकारी दिनुभयो ।
शाखाका अनुसार नाम्खा गाउँपालिकाको याल्वाङ र लिमी बिक्री केन्द्रका लागि सिमकोटबाट पाँच÷पाँच सय क्विन्टल चामल व्यवस्था गरिएको छ । खार्पुनाथ गाउँपालिकाको याङ्चु बिक्री केन्द्रका लागि पैदल मार्गबाट सुर्खेत र नेपालगञ्जबाट पाँच-पाँच सय गरी एक हजार क्विन्टल खाद्यान्न व्यवस्था गरिएको छ ।
अन्य बिक्री केन्द्र चङ्खेलीको देउलीका लागि सुर्खेतबाट पाँच सय क्विन्टल, सर्केगार्ड गाउँपालिकाको तुम्च बालुकुना बिक्री केन्द्रका लागि सुर्खेतबाट एक हजार र ताँजाकोट गाउँपालिकाको छप्रेला बिक्री केन्द्रका लागि सुर्खेतबाटै एक हजार क्विन्टल कोटा खाद्यान्न व्यवस्था गरिएको छ ।
त्यसैगरी सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपोका लागि मुगुको गमगढी र सुर्खेतबाट एक-एक हजार गरी दुई हजार क्विन्टल र अदानचुली गाउँपालिकाको श्रीनगर डिपोका लागि सुर्खेतबाट एक हजार, धनगढीबाट एक हजार र बाजुराको कोल्टीबाट पाँच सय गरी दुई हजार पाँच सय क्विन्टल खाद्यान्न व्यवस्था गरिएको छ ।
सिमकोट शाखाका लागि पनि चालू आर्थिक वर्षका लागि १० हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेकामा छ हजार सुर्खेत र चार हजार क्विन्टल नेपालगञ्जदेखि हवाई मार्गबाट व्यवस्था गरिएको छ भने स्थलमार्गबाट पनि शाखाकै लागि सुर्खेत, नेपालगञ्ज, धनगढी र राजापुर गरी चार स्थानबाट एक-एक हजार गरी चार हजार क्विन्टल खाद्यान्न व्यवस्था गरेको छ । सो खाद्यान्नसमेत ढुवानी हुन सकेको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।