सत्तागठबन्धनको मुद्दा बन्यो कांग्रेस विवाद
सिट बाँडफाँडलाई लिएर सत्तारूढ दल कांग्रेसभित्र उत्पन्न विवाद गठबन्धनकै मुद्दा बनेको छ । कांग्रेसको असन्तुष्ट समूहले आफ्नै पार्टी र अन्य दलमाथि दबाब बनाएपछि गठबन्धनभित्रै यस विषयले प्रवेश पाएको हो ।
कांग्रेसको असन्तुष्ट समूहले सिट बाँडफाँडमा आफ्नो समूहलाई नसमेटे गठबन्धनलाई असहयोग गर्ने चेतावनी दिन थालेपछि राजनीतिक तरंग पैदा भएको छ । आन्दोलनमा उत्रेको कांग्रेसको संस्थापनइतर समूहका नेताले पार्टी नेतृत्व र गठबन्धनका अन्य नेताहरूसँग पनि छलफल गरेका छन् ।
इतर समूहका नेताले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका पार्टी नेता र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटेर छलफल गरेका छन् । बुधबार बिहान कांग्रेस महामन्त्री गगन थापाले खुमलटार पुगेर कांग्रेस विवाद र गठबन्धनमा पर्न सक्ने असरबारे छलफल गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको आन्तरिक विवाद र निर्वाचनमा गठबन्धनको विषयमा चासो राखेका थिए । ‘पार्टीभित्रको आन्तरिक आयाम नमिलाईकन दलका बीचमा मात्रै गठबन्धन गर्दा त्यसले परिणाम नदिने’ थापाको भनाइ थियो । ‘पार्टीभित्रको आन्तरिक आयाम नमिलाईकन दलका बीचमा मात्रै गठबन्धन गर्दा त्यसले परिणाम दिँदैन,’ महामन्त्री थापाको भनाइ थियो ।
भेटमा महामन्त्री थापाले गठबन्धनमा सहमति भएका भनिएका अधिकांश स्थान आफ्नो समूहले दाबी गरेका र जित्ने आधार भएका स्थान रहेकाले त्यसको असर निर्वाचनमा पर्न सक्नेतर्फ संकेत गरेका थिए । ‘हाम्रो नेतृत्व विकास भएका स्थानहरू माओवादी र एकीकृत समाजवादीलाई दिइएको छ,’ महामन्त्री थापाको भनाइ थियो, ‘यसलाई सम्बोधन नगरी जाँदा निर्वाचनमा असर देखिन सक्छ ।’
थापासँगको भेटमा प्रचण्डले आफूले यसबारे सभापति देउवासँग छलफल गर्ने बताएका थिए । त्यसलगत्तै प्रचण्ड र देउवाबीच भेट भएको थियो । देउवाले आफूले पार्टीको आन्तरिक विवाद मिलाएर जाने भन्दै गठबन्धनमा कुनै असर नपर्ने भन्दै प्रचण्डलाई आश्वस्त पारेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।