
बल्ल मनकामना मन्दिर परिसरको सत्तल पुनःनिर्माण
गोरखा भूकम्पले क्षति पुर्याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ । मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुिठयार थकाली भीमबहादुर श्रेष्ठले संयुक्तरूपमा सोमबार सत्तलको शिलान्यास गरेका छन् ।
मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब रु ९० लाख लाग्ने जानकारी दिएका छन् । उनले भने, “अब दशैँलगत्तै पुनःनिर्माण सुरु हुन्छ, फिनिसिङ गर्दा थप लागत बढ्न सक्छ । करिब सात महिनाभित्रमा सत्तल निर्माण सम्पन्न हुन्छ ।”
उक्त सत्तलमा तत्कालीन समयमा मन्दिरमा आउने भक्तजनले बत्ती बाल्ने गर्दथे । हाल रहेको सत्तलको तेस्रो तलामा परेवा घर र मनकामना क्षेत्र विकास समितिको कार्यालय सञ्चालन हुँदै आएको छ । नयाँ निर्माण सम्पन्न भएपछि समेत सोही सत्तलमा समितिको कार्यालय सञ्चालन गरिने उनले जानकारी दिएका छन् ।
