भोलि सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड हुने
सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ भोलि असोज ११ गते बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार भोलि बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ ।
कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १६.२९ गुणा बढी रहेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो ।
त्यसमध्ये ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि र ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।