लामिछानेविरुद्ध नाबालिग करणी प्रकरण : अभियोग पुष्टि भए १२ वर्षसम्म जेल
राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ ।उनले गत ५ भदौमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको हो । लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी जोहरीमाथि अनुसन्धान सुरु भएको छ । अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा घटनाबारे सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।
मंगलबारै थापाथलीस्थित प्रसूति गृहमा पीडितको विस्तृत स्वास्थ्य परीक्षण गरिएको छ । बलात्कार भएको स्थानमा सीसी टीभी फुटेज प्रहरीले संकलन गरेको छ भने होटलका कर्मचारीसँग सोधपुछ गर्न थालेको छ । उनको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।
उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ । जाहेरीमा १७ वर्षीया नाबालिकाले स्याङ्जा आरुचौर गाउँपालिका स्थायी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बस्ने लामिछानेले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरुमा लगेर काठमाडौँ ल्याइ रातको अन्दाजी ११:५५ बजे काठमाडौँ महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लगेको उल्लेख छ ।
भदौ ६ गते राति अन्दाजी १२:२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेको उजुरीमा भनिएको छ । प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । पीडितले आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको भनेकी छन् । त्यसअघि आफूलाई नगरकोट लगेको पनि बताएकी छन् ।