नेप्से परिसुचकको ओरालो यात्रा जारी,उपसमूह राताम्य

मूलखबर संवाददाता
काठमाडौं

मंगलबार सेयर बजार परिसूचक नेप्से २१.२२ अंकले घटेको छ । नेप्से परिसूचक १९ सय ५१.७९ को बिन्दुमा झरेको छ । निरन्तर आरोलो लागेको बजारमा मंगलबार कारोबार रकम भने एक अर्ब १९ करोड पुगेको छ ।

मंगलबार २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको छ भने १७१ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्य बढेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

आज उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट तहमा बढेर कारोबार भयो । एनएमबी हाइब्रिड फन्ड र सामुदायिक लघुवित्तको सेयर मूल्य झिनो अंकले बढ्यो । दोस्रो बजारमा धेरै गुमाउनेहरुमा सानिमा माई हाइड्रो, हिमालयन एभरेष्ट इन्स्योरेन्स र जोशी हाइड्रोपावर लगायत रहे । यी कम्पनीको सेयर मूल्य दोस्रो बजारमा क्रमशः ७.३२, ६.०२ र ५.५३ प्रतिशतले घट्न पुग्यो ।

मंगलबार हिमालयन एभरेष्ट इन्स्योरेन्स, रिडी जलविद्युत् र सानिमामाई हाइड्रोको सेयर धेरै खरिद बिक्री हुने स्टक बन्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्डबाहेक सबै उपसमूह राताम्य रहेको छ ।