
भारतीय सेना प्रमुखले नेपाली सेनाको मानार्थ महारथीको दर्जा आज पाउने
भारतीय सेना प्रमुखले नेपाली सेनाको मानार्थ महारथीको दर्जा आज पाउने भएका छन्। पाँचदिने नेपाल भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेले मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने छन् । अपराह्न ३ बजे शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् ।
नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन रही आएको छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए भने पाण्डे भारतका १९ औं सेना प्रमुख रहेका छन् ।
पाण्डे आइतबार काठमाडौं आएका थिए । उनले आज सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् भने उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम रहेको छ । साँझ जंगीअड्डामा पाण्डेको सम्मानमा रात्रिभोज कार्यक्रम राखिएको छ । मंगलबार सेना प्रमुख पाण्डेले सगरमाथा आधार शिविरको भ्रमण गर्ने कार्यतालिका छ ।
