सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि, यस्तो छ दलहरुको दावी

मूलखबर संवाददाता
काठमाडौं

आसन्न संघीय र प्रादेशिक निर्वाचनको लागि सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ।

बुधबार साँझ बसेको बैठक निरन्तरतामा आज विहान ११ बजे बस्ने गरी टुंगिएको सरकारका प्रवक्ता एवं कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए।

सत्ता गठबन्धनका घटक दलहरुबीचमा सिट बाँडफाँडमा रस्साकस्ी चलिरहेको छ । शिर्ष नेताहरुको समेत व्यवसथापनले गर्दा बाँडफाँडमा केही ढिला भएको एक कार्यदल सदस्यले बताए ।

नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ। माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ।

कांग्रेस नेताहरूले सार्वजनिक रूपमै १०० सिटबाट तल नझर्ने अभिव्यक्ति दिइरहेका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सबै सिट आफू राखेर ‘उब्रिएको सिट’ दिए स्वीकार्य नहुने बताएका छन्।

गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिक कार्यक्रममै आफूहरूले प्रतिनिधिसभामा ६० सिट र प्रदेशसभामा १२० सिट दाबी गर्ने बताएका छन्।
माओवादीले आफ्नो बटमलाईन ६० बनाउनु स्वभाविक भएको विश्लेषकहरुले बताएका छन् । किनकी माओवादी केन्द्र गठबन्धनको निर्णायक दल हो ।