युरोपियन युनियनका राजदूतहरुले भेटे प्रचण्ड ः नेपालको शान्ति प्रक्रिया मोडेल भएकाेमा खुशी

मूलखबर संवाददाता
काठमाडौं, ४ भदौ ।

नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय कोअर्डिनेटर रिचार्ड होवार्ड नेतृतवको अमेरिका, वेलायत, अस्ट्रेलिया, जर्मन, स्विस तथा युरोपेली युनियनका राजदुतहरुको संयुक्त प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुशी व्यक्त गरेका छन् ।

प्रचण्ड निवासमा भेट्न पुगेका उनीहरुले त्यसमा आफ्नो सकारात्मक सहयोग र सद्भाव रहने बताउनु भएको छ। नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरुले बताएका छन् । भेटको क्रममा उनीहरुले गम्भीर मानव अधिकार उलंघनको घटना र पीडितहरुको पुनरावेदनको अधिकारकाबारे पनि चासो राखेका प्रचण्डको सचिवालयले जनाएको छ ।

पार्टीका केन्द्रीय कार्यलय इन्चार्ज तथा स्थायी समिति सदस्इ वर्षमान पुनसमेत सहभागि उक्त भेटमा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उनीहरुले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरेका थिए ।

प्रचण्डले भेटमा विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संबेदनसिलताप्रती राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरेका थिए ।